मेसी र रोनाल्डोको सहयोगी मन


चैत १५, बार्सिलोना । विश्व फुटबलका सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न ठूलो धनराशि सहयोग गरेका छन्। मेसी र रोनाल्डोसँगै बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि कोरोना भाइरससँग लड्नका लागि आर्थिक सहयोग गरेका हुन्।

स्पेनिस क्लब बार्सिलोनाका मेसी र पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसविरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका छन्। मेसीले बार्सिलोनाको सार्वजनिक अस्पताल र क्लिनिकलाई रकम सहयोग गरेका हुन्।

ग्वार्डिओलाले मेडिकल सामग्री र औषधि खरिदका लागि उक्त रकम सहयोग गरेको बताइएको छ। ग्वार्डिओला इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक छन्। उनले लामो समयदेखि प्रिमियर लिग क्लबलाई सम्हाल्दै आएका छन्। बार्सिलोना र स्पेनिस टोलीका पूर्वराष्ट्रि«य खेलाडी ग्वार्डिओला कोरोनाका कारण अहिले बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन्। पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ। कोरोना भाइरसले स्पेनमा ठूलो क्षति पु¥याएको छ। स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ। ४० हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

यसैगरी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि कोरोनाको संक्रमणविरुद्ध लड्नका लागि एक मिलियन युरो सहयोग गरेका छन्। रोनाल्डोले आफ्ना एजेन्ट जोर्गे मेन्डिससँग मिलेर पोर्टो र लिस्बनको एक अस्पतालका लागि उक्त सहयोग गरेका हुन्। रोनाल्डोको सहयोग कोरोनाका संक्रमितका लागि भेन्टिलेटर, बेड निर्माण र अन्य आवश्यक सामग्री खरिदमा प्रयोग गरिने बताइएको छ।

कोरोनाका कारण विश्वभर खेलकुद गतिविधि ठप्प भएको छ। अहिले सबै खेलाडी आफ्नै घरमा आराम लिएर बसेका छन्। इटालियन सिरिए क्लब युभेन्ट्सका स्टार रोनाल्डो इटालीमा कोरोनाको महामारी फैलिएपछि अहिले पोर्चुगलस्थित आफ्नै घरमा आराम गरिरहेका छन्। रोनाल्डोले यसअघि पोर्चुगलमा रहेका सञ्चालित आफ्ना होटलहरूलाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका थिए। विश्वभरका अन्य थुप्रै फुटबल खेलाडी र प्रशिक्षकले पनि कोरोना भाइरसको महामारीविरुद्घ लड्न आआफ्नै तरिकाले सहयोग पु¥याउँदै आएका छन्।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिले संसारभरका सम्पूर्ण खेलकुद गतिविधि स्थगित भएका छन्। विश्वकपपछिको दोस्रो ठुलो फुटबल प्रतियोगिता युरो कप एक वर्षका लागि स्थगित भएको छ। युरो कप यसै वर्ष आयोजना हुने कार्यक्रम थियो। यसैगरी आगामी जुलाईमा सुरु हुने भनिएको विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पनि सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ। दक्षिण अमेरिकी राष्ट्रहरूको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता कोपा–अमेरिका पनि एक वर्ष पछाडि सारिएको छ।

युरोपका पाँच ठुला घरेलु लिग क्लब फुटबल इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिए, फ्रेन्च लिग र जर्मन बुन्डेस लिगा पनि स्थगित भएका छन्। यस्तै च्याम्पियन्स लिग फुटबल पनि अनिश्चित बनेको छ। विश्व टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगितामध्ये फ्रेन्च ओपन पनि स्थगित गर्ने निर्णय भइसकेको छ।

२०७६ चैत्र १५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको