एनसेललाई बहिस्कार गर्न विप्लव नेकपाको उर्दी


माघ १४, धनकुटा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नेपालमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ ।

नेकपाले धनकुटाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नो ट्याक्स नो एनसेल’ नारा सफल पार्न घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको हो । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

नेकपा धनकुटाले एनसेल बढार्ने जनसंघर्षको क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ । ‘आजैका दिनदेखि घर, आँगन नजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ,’ नेकपा धनकुटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका धनकुटाका इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउँन, सिम तथा रिचार्ज कार्ड बिक्रि बितरण नगर्न र सिमको प्रयोग बन्द गर्न अपिल गरिएको हो ।

विज्ञप्तिमा ‘घरको छतमा जडान गरिएको एनसेलको टावर हटाउँन अनुरोध गर्दछौ । साथै एनसेलको सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री बितरण गर्ने सवै व्यवसायी तथा जनसमुदायलाई कारोबार तथा सिम प्रयोग नगर्न अनुरोध छ’ भनिएको छ ।

यसअघि गत माघ ३ गते धनकुटामा बसेको पुर्वका ६ जिल्लाका सुरक्षा प्रमुखहरुको बैठकले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्त रुपमा रणनीतिक योजना अघि सार्ने निर्णय गरेको थियो । निर्णय भएको दुई दिन बित्न नपाउँदै सो पार्टीले विज्ञप्ति जारी गरेर एनजिओ र आइएनजिओलाई घर भाडा नदिनु भनेर उर्दी जारी गरेको थियो भने सोमबार एनसेल प्रयोग नगर्न उर्दी जारी गर्नुले सुरक्षा चुनौती बढेको देखाएको छ ।

सुरक्षा प्रमुखहरूको बैठकमा पुर्वका धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाका प्रमुख सहितले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्तरूपमा रणनीतिक योजना अघि सार्ने निर्णय गरेका थिए ।

१४ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको