यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान


मङ्सिर १२, काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको महाशाखाले जनाएको छ । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ ।

आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १२ गते (शुक्रबार)

दिउँसो: प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: प्रदेश नं १ मा आंशिक बदली रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १३ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १४ गते (आइतबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको