अब कोरोना रिपोर्ट पोजेटिभ/नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने


असोज ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।

पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको उनको भनाइ छ ।

संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ छ ।

यस्तै कतिपय मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी गराउने निर्णय गरेको पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।

२०७७ आश्विन ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको