राप्ती आँखा अस्पतालको भौतिक संरचना विस्तार गरिँदै


असोज ११, दाङ । हालसम्म दातृ निकाएको सहयोगमा सञ्चालन हुँदै आएका आँखा अस्पतालहरुलाई जिल्लाका स्थानीय सरकारदेखि सांसदहरुले आर्थिक सहयोग प्रदान गर्न थालेका छन्।

गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएका अस्पतालहरुमा पछिल्लो समय सरकारी निकायबाट समेत भौतिक पूर्वाधार निर्माणमा सहयोग प्राप्त हुन थालेपछि व्यवस्थापन पक्ष उत्साहित छ।

राप्ती आँखा अस्पताल तुलसीपुरको भवन निर्माण गर्न स्थानीय सरकारले सहयोग प्रदान गरेको छ। प्रदेश सरकार अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले अस्पतालको भवन निर्माण गर्न ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकमले राप्ती आँखा अस्पतालको प्राङ्गढमा अत्याधुनिक कर्मचारी आवास गृह निर्माण भइरहेको छ। निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सम्शेर थापाले जानकारी दिए ।

त्यसका साथै तुलसीपुर उपमहानगरपालिकाले थप ५० लाख आर्थिक सहयोगको घोषणा गरेको थापले बताए ।

दाङको लमहीस्थित आँखा अस्पतालको कर्मचारीका लागि आवास गृह निर्माण गर्नका लागि दाङ क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सांसद विकास कोषबाट यो वर्ष ५० लाख आर्थिक सहयोग प्रदान गरेका छन्। यो भन्दा अघिल्लो आर्थिक वर्षमा पनि उनले अस्पतालाई ५० लाख आर्थिक सहयोग गरेका थिए।

त्यसबाट लमही आँखा अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा उपकरण खरिद गरिएको थापाले बताए। यसैबीच राप्ती आँखा अस्पतालले ४१औं सामाजिक सेवा दिवसका अवसरमा आइतबार बिहान पत्रकार सम्मेलन गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सचिव सुरेन्द्र खड्काले अब स्थानीय तह र सरकारले नै आँखा अस्पताल सञ्चालनको जिम्मा लिनुपर्ने बताए।

पूर्वी रुकुममा आँखा अस्पतालको भौतिक पूर्वाधार निर्माणदेखि सञ्चालनको सबै जिम्मा स्थानीय सरकारले लिएको जानकारी दिँदै उनले त्यसको सिको सर्वत्र हुन जरुरी रहेको बताए।

कार्यक्रममा अस्पतालका सह–सचिव चिरञ्जिवी रिजालले विक्रम संवत २०४३ सालमा स्थापना भएको राप्ती आँखा अस्पताल हालसम्म नर्वेजियन नागरिकको सहयोगमा सञ्चालन हुँदै आएको भएपनि पछिल्लो समय स्थानीय सरकारवाट समेत सहयोग प्राप्त हुन थालेको भन्दै खुसी साटे।

अहिले कोभिड– १९ का कारण सेवाग्राही घटेको र अस्पतालको आयस्रोत समेत घटेको हुँदा नेपाल सरकारले सहयोगी हात बढाउन अति जरुरी भइसकेको उनले बताए।

कार्यक्रममा अस्पतालकी प्रमुख डाक्टर शुलक्ष्मी कटवालले महिलाहरु भात भान्सामा बढी खटिनु पर्ने भएका कारण आँखाका समस्याहरु आउने गरेको बताइन्। नर्वेजियन दृष्टिविहीनहरुले स्थापना गरेको सहयोग कोषले राप्ती आँखा अस्पताललाई २०५५ सालदेखि आर्थिक सहयोग गर्दै आएको छ ।

नेपालमा २०३५ साल चैत १९ गते पहिलो पटक आँखा अस्पतालको स्थापना भएको थियो। नेपालमा हालसम्म २० वटा आँखा अस्पताल स्थापना भइसकेको भएपनि यो अवधिमा राप्ती आँखा अस्पतालले मात्रै झन्डै २८ लाख जतिलाई सेवा प्रदान गरेको थापाले बताए। अस्पतालले झन्डै २ लाखको सफल आँखा अप्रेसन गरेको बताएको छ।

अहिले सम्मको तथ्याङ्क हेर्दा ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष उपचारका लागि अस्पताल आएका छन्। आँखाको अप्रेसन गरेका मध्य ५४ प्रतिशत महिला रहेको र ४६ प्रतिशत पुरुष रहेको कार्यक्रममा जानकारी दिइएको छ।

कोभिड–१९ को सयमा आँखा अस्पतालले तुलसीपुर, घोराही र लमहीलाई ३ लाख बराबरको खाद्यान्न सहयोग गरेको पनि कार्यक्रममा जानकारी दिइएको छ।

११ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको