दाङका दुई जनामा कोरोनाको संक्रमण भेटिएन


चैत १४, काठमाडौं । दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ।

भारतको गोलगाँउबाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानबाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले शुक्रबार उनीहरु दुवै जनामा कोरोनाको संक्रमण फेला नपरेको जानकारी दिएका हुन्।

दुई दिन अगाडि मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी उनीहरु दुई जनाको स्वाब लगेर आफैं काठमाडौं गएकी थिइन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रबार उक्त रिपोर्ट दिएको हो।

कोरोना भाइरसको आशंकापछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भइ उपचार गराई रहेका उनीहरुलाई शुक्रबार नै डिस्चार्ज गरेर घर पठाउने कायममुकायम रजिष्ट्रार देबले जानकारी दिएका छन्।

तर उनीहरुलाई घरमा गए पनि क्वारेन्टाइनमा बस्न सल्लाह दिने देबले बताएका छन्। प्रतिष्ठानको आइसोलेनमा रहेर उपचाररत थप तीन जना आशंका गरिएका बिरामीको रिपोर्ट भने अझै आइपुगेको छैन।

बुटवलबाट आएको चिकित्सकको टोलीले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो। उनीहरुमध्य एकजना घोराहीका र थप दुई जना गढवा गाउँपालिकाका युवाहरु छन्। उनीहरु सबै भारतबाट आएका युवाहरु रहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको