प्रधानमन्त्री ओलीले गोकुल बाँस्कोटा प्रकरणबारे दिए यस्तो प्रतिक्रिया


फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसा बाँस्कोटाको बचाउ गरेका छन्।

बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताए ।

‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’

बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन् । प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमा मात्र राजीनामा दिएको तर्क गरे ।

‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ । अहिलेसम्म उजुरी परेको छैन ।’

उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए । ‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ । त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले आन्दोलन बदनाम गर्न षडयन्त्र भइराखेको बताए । ‘हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो । सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ,’ उनले भने ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गरे । ‘मैले कसैको डिफेन्ड गर्न खोज्या होइन । गोकुल बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुन्छ,’ ओलीले भने ।

सेक्युरिटी प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए ।

१५ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको