थुनामै बिरामी परेपछि गायिका आस्था राउत अस्पताल भर्ना


माघ १३, काठमाडौँ । अभद्रको अभियोगमा प्रहरी थुनामा पुर्‍याएकी गायिका आस्था राउत सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना भएकी छन्।

बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको स्रोतको भनाइ छ । उनलाई अस्पतालको चौथो तल्लाको ४ सय २३ नम्बर कोठामा राखेर उपचार गरिएको छ ।

उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि अस्पताल पुर्‍याइएको हो ।

गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।

सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो ।

१३ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको