एसिड प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भने, ‘उपचारमा सरकारले सहयोग गर्छ’


साउन ११, काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसिड प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै उनले भने,’घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ ।’

मन्त्री ढकालले आइतबार कीर्तिपुर अस्पताल पुगेर पीडितका आफन्त तथा चिकित्सकसित युवतीको उपचारबारे जानकारी लिएका हुन् । सीतापाइलामा बस्दै आएकी ओखलढुंगाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको बिहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ ।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताएका थिए । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ । रासस

२०७७ श्रावण ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको