अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली


फागुन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्।

आजको नागरिक दैनिकमा खबर छ – पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र नेपालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ। बालुवाटार निकट स्रोतका अनुसार ओलीले नै नेपाललाई बोलाएर भेटघाट गरेका हुन्।

बुधबार बिहान सचिवालय बैठक डाकिएको छ। सचिवालय बैठकको अघिल्लो दिन भएको भेटमा पार्टीभित्र देखिएको समस्या, संविधान संशोधन तथा गौतम निवासमा भएको भेलाबारे छलफल भएको थियो।

प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाहिर रहेका बेला पार्टीका अर्का अध्यक्ष दाहाल र नेपालबीच पार्टी कार्यालयमा भेटघाट भएको थियो। त्यसकै भोलिपल्ट नेपाललाई ओलीले बालुवाटार बोलाएका हुन्।

‘उहाँहरुबीच दिउँसो छलफल भएको थियो। पार्टी एकतापछि देखिएको समस्या, सरकार सञ्चालन र अन्य व्यक्तिगत विषयमा कुराकानी भएको छ’, बालुवाटारनिकट स्रोतले भन्यो।

सचिवालय बैठकमा वरिष्ठ नेता नेपालकै संयोजकत्वमा संविधान संशोधन कार्यदल बनाउनेबारे छलफल भएको थियो। त्यसबेला प्रधानमन्त्री ओली र नेपाल दुवै मौन बसेका थिए। दुवै जनाले कुनै प्रतिक्रिया नदिएका बेला सो विषय बाहिर चुहिएपछि दाहालले नेपालसँग भेटघाट गरेका थिए।

त्यसपछि ओलीले नेपाललाई बोलाएर संविधान संशोधन र पुस २३ गते वामदेव गौतमको घरमा भएको भेलाबारे पनि छलफल गरेका हुन्।

‘गौतमको घरमा भएको भेलापछि सचिवालय बैठकमा सधैं अल्पमतमा परेपछि ओलीले नेपालको साथ लिन खोजेको देखिन्छ’, ओली–नेपाल भेटपछि नेपालनिकट एक केन्द्रीय सदस्यले भने।

संविधान संशोधनको विषय निकै जटिल भएकाले यसलाई बढी नै उचालियो कि भन्ने ओलीको धारणा रहेको र त्यसबारे नेपालसँग विस्तृत छलफल गरेको स्रोतको दाबी छ।

गत भदौमा ओली र नेपालबीच विवाद भएपछि करिब तीन महिना बोलचाल नै बन्द भएको थियो। ओली स्वास्थ्यउपचारका लागि सिंगापुर जानुअघि बसेको सचिवालय बैठकमा उनीहरुबीच विवाद भएको थियो।

पार्टीका हरेक निर्णयमा ओली हावी भएपछि पुस २३ गते गौतमको घरमा भएको भेलाले ओलीविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो।

उक्त बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल र विष्णु पौडेलबाहेक अरु नेता सहभागी थिए। त्यसपछिका सचिवालय बैठकमा ओली कमजोर देखिएका छन्।

ओलीलाई साथ दिँदै आएका गौतमले पनि साथ छाडेपछि अर्का अध्यक्ष दाहाल हावी हुन थाले। मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका दाहालले दुईपटक ओलीबिना नै सचिवालय बैठक राखिसकेका छन्।

१४ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको