माघ १२, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन्।
असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन।
जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले संसद बैठकको अध्यक्षता गरेका छन् । ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
सापकोटाविरूद्ध सर्वोच्च अदालतमा काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा छ । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पार्टीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सुनाएका थिए।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आइतबार सभामुख पाएको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा रहेका छन् । महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस