अमेरिकाबाट उपमेयरको प्रतिक्रिया- ‘म बिरामी छु, लुकेकी छैन’


माघ १२, काठमाडौं । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर सम्पर्कविहीन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली(दर्शना)ले आफू नहराएको र कतै नलुकेको प्रतिक्रिया दिएकी छिन्।

आइतबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेका कारण नेपाल फर्कन नसकेको बताएकी छिन्। आफू राम्ररी बोल्न नसक्ने र अलिअलि मात्रै चल्न सक्ने भएकाले भारतकी डा.अञ्जिर कुमारबाट उपचार गराइरहेको जानकारी पनि उनले दिएकी छन्।

‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ, अलिअलि चल्न सक्ने भएको छु, सबै उपचार भारतकी डा.अञ्जीर कुमारले गर्दै हुनुहुन्छ,’उनले आफ्नो फेसबुकमा लेखेकी छिन्,’म पूर्ण रूपमा निको हुन अझै पाचँ महिना लाग्छ भनेको छ।’

त्यस्तै उनले मेयर रतन शाहीलाई जानकारी दिएर गएको र बिरामी परेको खबर पनि उनलाई नै गरेको बताएकी छिन्। ‘म हराएकी पनि छैन, कतै लुकेको पनि छैन’, फेसबुक स्टाटसमा उनले भनेकी छन्,‘मेले मेयरलाई जानकारी नदिई आएको होइन,उहाँले भ्रमण स्वीकृत गर्नु भएको हो।’

कात्तिक १ गते इन्टरनेसनल सिटी मेनेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट दुई जना जन-प्रतिनिधि अमेरिका गएका थिए।

गोष्ठीमा नेपाली र धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना थिए। चार दिने कार्यक्रममा सहभागी हुन पुगेका नेपाली र ढुङ्गानाको गोष्ठीसहित २१/२२ दिन बस्ने कार्यक्रम थियो। दुबै जनाको टिकट नोभेम्बर ७ (कात्तिक २१) गते रहेपनि नेपाली बिरामी भएका कारण फर्किएकी थिइनन्।

१२ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको