ओली प्रचण्ड र देउवाको भेटवार्ता, के भयो छलफल ?


माघ १२, काठमाडौँ । मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्नेमा शीर्ष नेता सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्दै यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मुलुक सञ्चालनदेखि अन्य विषयमा सहमति र सहकार्य गर्दै अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ । छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुकको समसामयिक परिस्थितिबारे शीर्ष नेताबीच छलफल भएको बताए ।

करिब दुई घण्टा लामो समय भएको छलफलमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा आगाडि बढ्ने सहमति भएको उनले बताए । ‘मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्य गर्दै अगाडि बढ्न आवश्यक हुन्छ, त्यही साझा सहमतिको खोजी गर्ने क्रममा छलफल भएको हो’ नेम्वाङले भने, ‘राज्य सञ्चालन गर्ने क्रममा संसद्देखि राजनीतिक तहका अन्य विषयमा समेत सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।’

छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताए । तर, दुई पार्टीबीच भएको छलफलमा कुनै विषयमा ठोस सहमति नभएको उनले बताए । अहिलेको समसामयिक राजनीतिक विषयमा मिलेर कसरी अगाडि बढने विषयमा कुराकानी भएको लेखकले बताए ।

यसअघि संक्रमणकालीन न्याय टुंगो लगाउन नेकपा र कांग्रेसका शीर्ष नेताले छलफल गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको थियो । त्यही सहमतिका आधारमा दुबै आयोगमा पदाधिकारी नियुक्ति भई पूर्णता पाइसकेको छ । अहिले रिक्त विश्वविद्यालयहरूमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति विषयमा छलफल भए पनि कुनै सहमति भने हुन सकेन । विश्वविद्यालयको उपकुलपतिसहित पदाधिकारी नियुक्ति विषयमा पुनः अर्को दिन छलफल गरिने सहमति भएको बताइएको छ ।

आइतबार सभामुखको निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीचमा भएको छलफलमा सभामुखको निर्वाचन व्यवस्थित बनाउने सहमतिसमेत भएको बताइएको छ ।

सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थनमा नेकपा नेता सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । तर, सापकोटालाई सभामुखमा रोक्न सर्वोच्चमा रिट परेको छ । काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सापकोटाविरूद्ध सर्वोच्चमै मुद्दा छ । सो मुद्दामा आइतबार नै छलफल हुँदै छ । राजधानी दैनिकमा खबर छ ।

१२ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको