‘महल छोडेर गुन्द्रीको बिछ्यौनामा हामीसँग सुत्न आए, फेरि हात मिलाउन सक्छौं’


तुफान सिंह “कालिकोटे”

अन्तत: बिद्रोही नेकपाका महासचिव विप्लवले भने झैं यो सत्ता र व्यवस्था पहिले नै असफल भैसकेको थियो । अहिले यो सामान्य जनताले देख्ने र बुझ्ने गरि पुष्टि भएको मात्रै हो ।

अबका युवा केपि शर्माको प्रतिगामि र दक्षिणपन्थी यथास्थितिवादी कदमका बिरुद्ध प्रगतिशील युवाहरुले प्रतिबाद नगरी भएको छैन ।

हिजो प्रचण्ड, बाबुराम, बादल लगायतका नेताहरूको टाउकोको मुल्य तोक्नेहरूसँगको पार्टी एकता नै महाभुल थियो । यति मात्रै थिएन, सत्ताको मातमा संगै लडेका कुनै वेलाका आफ्नै सहयोद्दा विप्लव नेतृत्वको नेकपालाई नै प्रतिबन्ध गर्नु नै उनिहरुको दिन गन्तीसुरु भएको हो । आज प्रचण्डसँग न सेना छ, न क्रान्तिकारी संगठन, न प्रतिबद्ध कार्यकर्ता । अब काठमाडौ बसेर रुनु कराउनुको बिकल्प छैन ।

हिजो खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँलाई विघटन मात्रै होइन, ध्वस्त बनाउनुपर्छ । र, नौलो ब्यबस्थाको महा समरमा लामबद्ध हुनुपर्छ भन्थ्यौ । तब आज किन रुन्छौ महोदय ?

हिजो असी प्रतिशत भुभाग कब्जा गरेको क्रान्तिको मुख्य नायक, न उसले आफ्नो आधारक्षेत्र बचाउन सक्यो, न उसले बुर्जुवा सत्तामा पकड जमाउन नै सक्यो । सहि बिचार र नेतृत्व हुँदा नभएका चिजहरु सबै प्राप्त गर्न सकिन्छ र बिचार गलत हुँदा प्राप्त भएका सबै उपलब्धिहरु क्षणभरमा गुम्छ भन्ने माओले भनेका कुराहरु यहाँ लागू हुन्छ ।

दस बर्षको जनयुद्धले रगत र पसिना बगाएका मजदुर, किसानको मनमा धेरै आशाहरु जगाएको थियो । तर प्रचण्डले ती आशाहरु एलिट बर्गहरुको हातमा बुझाइदिएपछी ती उत्पीडित बर्गहरु फेरि नारकिय जीवन बिताउन बाध्य भए ।

देशको विद्यमान राजनीतिक संकट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान संकटको समाधान साम्राज्यवादी तथा विस्तारवादी बिदेशीहरुको चलखेलमा गरिने नयाँ संसदीय निर्वाचनले गर्न सक्दैन । यस संकटको एकमात्र समाधान संघीयता जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।

“हिजो ताती लाएर हिड्ने माओवादीहरु, खर्सुको बोटमुनी रात बिताउने माओवादीहरु एकजुट हुनुपर्छ” भनेर कुनै वेला बिप्लवले भनेका थिए । तर त्यसको बदलामा बिप्लवलाई प्रतिबन्ध लगाए । जसमा सबभन्दा रमाउनेहरु यिनै भुपु कमरेडहरु थिएन । आज तिनिहरुको हालत देख्दा बिचरा भन्ने बाक्य फुस्किन्छ मुखबाट ।

जनयुद्ध र जनआन्दोलनमा जसको कौदीको योगदान छैन, उसैलाई काधमा बोकेको परिणाम आज प्रचण्डले भोग्दै छ । महान सहिदहरु, बेपत्ता योद्धा, घाइते योद्धा एवम् तमाम उत्पीडित वर्ग, सहिद परिवार, बेपत्ता योद्धाका परिवारहरुको अपमान गरेर गद्धारी गरेको परिणाम भोग्दै छन प्रचण्डले ।

अझै केहि बिग्रेको छैन । संसदीय ब्यबस्थाबाट बिद्रोह गरेर हिजोको बाटोमा आउनुप-यो । हामी त त्यहीँ लाइनमै छौँ । प्रचण्ड महोदय ! आत्मालोचना सहित महल छोडेर गुन्द्रीको बिछ्यौनामा हामीसँग सुत्न आए, फेरि पनि हात मिलाउन सक्छौं । पहिले हामी सबैले परिकल्पना गरेको जनसत्ता निर्माण गरौं, जनसंबिधान घोषणा गरौं । क्रान्तिका बाकी कार्यभार पुरा गरौं । क्रान्ति सम्भव छ । मुक्ति सम्भव छ ।

१० पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको