एकपाखेको चिरफार


पृथीछक बुढा 
प्रधानमन्त्रीका एकजना काजी सुर्य थापाले कुलमानका समर्थकहरुलाई एकपाखे भनिदिए । एक साइलेन्ट भइदिएकाले धेरैलाई उनले पाखे भनेको लाग्यो ।

सुर्य थापाले पाखे होइन, एकपाखे भनेको हुम भनेर सामाजिक संजालमा बोले । गाउँमा कयौं पाखाबारी जमिन भएको मान्छेलाई “एक पाखे” भन्दिने भनेर एउटा गोत्यार भाइ चम्किए । बुझियो, भाइ पनि कुलमानको समर्थक रहेछ ।
गोत्यार भाईको बुझाईमा ‘एक र पाखे’ को बिचमा स्पेस भएको बुझायो । यहाँ स्पेस र कमाको पनि ठूलो महत्त्व राख्छ ।

पछाडी दिएको स्पष्टीकरणमा ‘एक र पाखे’ को बिचमा स्पेस छैन भन्देको भाईले सजिलै भन्यो- “त्यो पछि थपेको हो । पहिलो भिडियोमा हेरौं, भिडियोमा एक साइलेन्ट छ र पाखे मात्रै सुनिएको छ । एउटै धर्का भित्रका एक र पाखे छुट्याएर अन्याय गर्न पाइन्छ ? खै एकको अधिकार ? लोकतन्त्रले दिएको मौलिक हकाधिकार यहि हो ? एकलाई सिधै गायब बनाइदिने ? यो सांसद गायब पा-या जस्तै हो ? उनिहरुको मनोमानी चल्छ ? ब्याकरणको केही अर्थ छैन गाठे ?”

उसको रिसको सिमा त्यतिकैमा किन रोकिन्थ्यो, काजीलाई सल्लाह समेत दिन भ्याए- “सरकार जसरी चलाउ तर ब्याकरण नचलाउ । सांसद गायब पार तर शब्द गायब पार्न पाउदैनौ ।”

जे हुनु भइहाल्यो । उनले पाखे भनेपनि एकपाखे भनेपनि अब काजी थापाले भनेको आधिकारिक कुरा एकपाखे नै भयो ।

एकजना नजिककै साथीले “तीन करोड जनतालाई एकपाखे भन्ने ?” भनेर संजालमा आक्रोश पोखे ।

त्यति पनि नभनौ । सबै तीन करोड मान्छेले कुलमानलाई चिन्नैपर्छ भन्ने पनि होइन । जस्तो कि मेरो गाउँमा कुलमानको परिचय बलियो छैन ।

किन ?

पहिले कुरा सुनौ, हिजो मात्रै चौतारीको चिया पसलमा सुर्य थापाको बिषयमा चर्चा भयो । एकपाखेको चर्चा चलेपछि कुलमान घिसिङको कुरो निस्किने नै भयो । यतिकैमा नजिकै बसेका एकजना प्रौढले जिज्ञासा प्रकट गरिहाले- “यो कुलमान भनेको कुन नेता हो ? काकरिस हो कि माउबादी ?”

कुलमान घिसिङ को हो ? बिचराले चिन्नु भएन ।

ठिकै हो । काठमाडौको जस्तो बिजुली नपुगेको सल्लाको दियालो बाल्ने मान्छेहरुलाई बिजुलीसंग सरोकार राख्ने कुरै भएन । सोलार बोल्नेहरुलाई पनि राजधानीको बिजुलीसंग मीत लाएको साइनो पनि छैन । कसले लोडसेडिङ हटायो ? कसरी हटायो ? त्यसमा बहस गर्न उनिहरुलाई खासै फुर्सद पनि छैन ।

गाउँघरको आवादी नै कति होला र ? बढिको जम्माजम्मी एक करोड । एक करोडमा पनि अहिले सामाजिक संजालमा नजोडिएको मान्छे खासै पाउन गाह्रो छ । प्रौढहरुले नचलाउनु फरक कुरा हो । जतिले संजाल चलाउनुहुन्छ उनिहरुलाई कुलमानको बारेमा ज्ञात छ । ज्ञात भएपछि समर्थक हुने नै भइहाले, चाहे त्यसले दियालो बालुन कि सोलार ।

नेपालको जनसंख्या करिव ३ करोड छ । करिव ४० लाख १६ बर्ष भन्दा मुनिका बालबालिकाहरु भइहाले । ३० लाख प्रौढको संख्या मानौं । जम्मा ७० लाख भयो । त्यसमा सबै दलका जम्मा कार्यकर्ता संख्या १० लाख पनि पुग्न धौधौ छ । ती मध्ये १ प्रतिशतले मात्रै पनि कुलमानको काम मन नपराए त्यसको संख्या १० हजार हुन्छ ।

जम्मा हिसावकिताव निकाल्दा कुलमानका समर्थकहरुको संख्या करिव २ करोड ३० लाख पुग्न जान्छ । यहि कारण सुर्य थापाले तीन करोड नागरिकलाई एकपाखे भनेको होइन । केवल २ करोड ३० लाख कुलमानका समर्थकहरुलाई मात्रै एकपाखे भन्नू भएको हो ।

९ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको