मिल्न नसकेको अधुरो प्रेम


रेख मेरा लागि घडीको अलारम जस्तै भएको छ हिजोआज । बिहान सात बजे नै मलाई म्यासेज गरेर उठाउँछ ।

मध्य हिउँदको महिना बाहिर हिउँ परेर असाध्यै जाडो छ । त्यसैले तातो ओछ्यान छाड्नै मन लाग्दैन । सिरकभित्र गुटमुटिँदै दुई घन्टा अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन ।

छिनभरमै म्यासेजको रिङ बज्यो मोबाइलमा । रेखको म्यासेज रहेछ ।

“कति धेरै सुतेको नि डल्ली, निद्रा पुगेन ?” रेखले भन्यो ।

“हिजो राति अबेरसम्म निद्रा लागेन त्यसैले बिहान त भुसुक्कै निदाएँछु ।” मैले आँखा मिज्दै जबाफ पठाएँ ।

“किन निद्रा नलागेको ?” फेरि उताबाट म्यासेज आयो ।

“त्यत्तिकै, बेलुकी अलिकति निदाएको थियो सपना नमीठो भएर निद्रा नै परेन भन्या ।” शरीर तन्काउँदै भनें । ‘

“कस्तो सपना त ?”

“कहिलेकाहीँ गाउँ घरको सपना देखिन्छ ।” मेरो मुखबाट कुरा फुत्किहाल्यो । मेरो कुराले रेखलाई अझ कौतूहलता जगाएछ क्यार । प्रश्नमाथि प्रश्न तेर्साउन थाले ।

केही होइन जिस्किएको भन्दै टारें । रेख फेरि अफलाइन भयो । भारी मन लिएर काममा जना रेडि भएँ । ब्याकुल मनलाई बुझाउने प्रयास गरें तर सकिन । मनमा आँधीहुरी चलिरह्यो ।

अघिल्लो दिन च्याटमा भनेको थियो- “भोलि केटी हेर्न जाने कुरा छ । के गर्नु घरपरिवारले जबरजस्ती गरे । हेरिदिनुपर्‍यो मन मिले विवाह गर्छु ।”

रेखको कुराले ऋतुको मनमा ठूलो चोट पुुर्‍यायो । ऋतु आफैंमा रन्थनिन थाल्यो । हुन त रेख विवाह गर्नकै लागि भनेर बिदा लिएर नेपाल गएको थियो । रेखले पहिलेदेखि नै घरबाट विवाहको कुरा चलेको बताउँथ्यो । अनि मसँग सोध्थ्यो- “म के गरूँ ?”

मनभित्र माया भए पनि ऋतु रेखलाई बारम्बार विवाह गर्न सल्लाह दिन्थे । विवाह गरेर घरजम बसाओस् भन्ने ऋतुको चाहना थियो । उसको पनि त जिन्दगी छ ।

ऋतुले रेखलाई आफूलाई भन्दा बढी माया गर्थे । रेख ऋतुको रित्तिसकेको जिन्दगीमा बहार बनेर आएको थियो । पुन: आशा र उमङ्गको बिजारोपण गरिदिएको थियो । म त्यति स्वार्थी बन्नु हुन्न भन्ने ऋतुले मनमनै भन्थ्यो । सच्चा हृदयले गरेको चोखो प्रेम पाउनै पर्छ भन्ने पनि त छैन । उसले कसैले भनेको सम्झ्यो- “प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो ।” तैपनि यथार्थलाई स्वीकार गर्नु त्यति सजिलो नहुने रहेछ ।

ऋतुले आँसुका थोपा झार्दै रेखलाई शुभकामनाका शब्द टाइप गरेर पठाइ दिए । तब उताबाट रेखको जवाफ आयो- “कति हतार है शुभकामना दिनलाई ।”

आफ्नै बाध्यता र परिबन्दमा बााधिएकी ऋतु चाहेर पनि रेखलाई साथ दिन सक्दिन थियो । यो समाजका अगाडि दुबैमा खुलेर प्रेम गर्न सक्दैनथे । न त दुबैमा त्यो बन्धन तोड्ने हिम्मत नै थियो ।

यतिबेला नियतिले दुबैलाई अप्ठ्यारो अवस्थामा ल्याएर छाडिदिएको थियो । त्यसको सामनाको सामर्थ्य थिएन दुबैमा । उनिहरु लाचार अनि विवश थिए ।

“यो कस्तो माया बस्यो है हाम्रो, न त एक हुनै सकिने न त भुल्नै सकिने ।” कहिलेकाहीँ यस्तै कुरा गरेर भावुक हुन्थे दुबै जना । ऋतुअलि बढी नै भावुक हुन्थी ।

रेख: सम्झाउँदै भन्थ्यो- “निराशाका कुरा गरेर आफूलाई कमजोर बनाउनुहुन्न । सधैं आशावादी र सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ ।”

उनिहरुको भेट फेसबुकमार्फत भएको थियो । उनिहरु दिनरात च्याटमा हुन्थ्यो । मीठामीठा कुरा गर्दथे ।

कहिलेकाहीँ एक–अर्काको विगत सम्झेर रमाउथे त कहिलेकाही भावुक हुन्थे । वर्तमान र भविष्यका कुराहरू गर्दथे । जिन्दगीका योजना बुन्दै सुन्दर सपना सजाउथे । सायद, उनिहरुको मन अनि भावना एउटै भएर होला छोटो समयमै उनिहरु धेरै नजिक भइसकेका थिए ।

त्यसो त प्रवासी भूमिमा आत्मीयता बढ्नु स्वाभाविक हो तर उनिहरु बीचको सम्बन्ध बिल्कुल फरक थियो । उनिहरुले एक–अर्कालाई भेट्ने प्रयास कहिल्यै गरेनन् तर भावनात्मक रूपमा हरपल सँगै रहे ।

रेख फेरि अनलाइनमा हरियो बत्ती बाल्दै पिलिक्क झुल्कियो । उताबाट टाइप गरिरहेको संकेत सहित म्यासेज आयो । ” के गर्दै नि ? म त जान लागेको….।”

“बेस्ट अफ लक ।” ऋतुले रिप्लाई दिए ।

“के को बेस्ट अफ लक नि ?” रेख झर्किएझैं गरेर जवाफ पठायो ।

ऋतुले मन भारी बनाउदै लेखे- “ल ल केटी राम्रोसँग हेरेर विवाह गर्नू मेरो चिन्ता नलिनू ।”

ऋतुले रिप्लाई दिँदासम्म उ अफलाइन भैसकेको थियो । ऋतु आफूलाई थाम्न सकिन । डाँको छाडेर कोठामा एक्लै रोइरहे । कोठामा मधुरो गीत बजिरहेको थियो- “दुबैको भेट हुन्न अब त….।”

९ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको