दाउन्नेमा पहिरोले बस भिरबाट खस्यो: रुकुमका एक युवाको मृत्यु, ६ जना घाइते


असोज ९, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ बर्षीया प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् ।

उनीहरुको टाउको, ढाड, छातिमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् ।

घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन ।

गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

 

९ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको