नयाँ नेपालको नक्साप्रति प्रचण्डको मौनता र बाबुरामको असन्तुष्टिको रहस्य के होला ?


पुर्व प्रधानमन्त्री तत्कालीन माओवादीका बरिष्ट नेता, तत्कालीन नयाँ शक्तिका संयोजक र हाल जनता समाजवादी पार्टीका दोस्रो बरियताका नेता डा बाबुराम भट्टराईले फेसबुक र टुइटर मार्फत घुमाउरो शैलीद्वारा नेपालको नयाँ नक्सा प्रती लगातार आइरहेको असन्तुष्टि आश्चर्यजनक छ।

नेपाल-भारत बिचमा लामो समयदेखिको विवाद रहदै आएको लिम्पियाधुरा/लिपुकेक र कालापानीको सिमा विवादको यतिखेर गम्भीर बहस चलिरहेका बेला आन्तरिक एकतालाइ मजबुत गर्नतर्फ नलागेर भारातिय रणनीतिलाई बल पुग्नेगरी अनेकन शब्दजालको उत्पादन गरेर बाबुरामले नेपाली बहसलाइ कम्जोर पार्नेतर्फ लागेको अनुभुति हुन थालेको छ।

नेपाल र भारतका सरकारी प्रतिनिधि एवं प्रभुत्व वर्गहरुले यतिखेर मिडिया मार्फत आ-आफ्नो हितमा दलिल रखिरहेको र जनस्तरमा समेत गर्मागर्मी स्थितिको अवस्था छ। यो अवस्थामा पुर्व प्रधानमन्त्री, तत्कालीन माओवादीका अध्यक्ष र हाल नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मौनताले भारतीय पक्षको दलिल र आरोपलाइ बल पुगिराखेको महसुस हुनथाल्नु स्वभाविक त नहोला पक्कै ?

लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचित पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड र अर्थमन्त्री बनेका बाबुरामको सरकार कटुवाल प्रकरणले ढलेपछी सडकमा आएर काठमाडौको बानेश्वरमा आयोजित सभाबाट गरेको त्यो भासण सम्झन्छु, “नेपालका कठपुतलीहरुको प्रभु सङ्ग नै अब हामी वार्ता गर्छौ आवश्यक परे सुरुङ्ग युद्ध समेत गरेर असमान सन्धी सम्झौता पुनरावलोकन र खारेज गर्छौ”। त्यतिबेला प्रचण्ड बाबुरामको भासण यहि थियो।

प्रचण्डले गरेको भारत अर्थात प्रभु विरुद्धको राजनीति उनले गरेको २५बुदे सम्झौतामा र बाबुरामको भारत विरुद्धको राजनीति बिप्पा सम्झौतामा गएर टुङ्गियको त होइन ? भन्ने गम्भीर प्रश्न स्वभाविक रुपमा उठेको छ। प्रचण्डको त्यो २५ बुदे र बाबुरामको बिप्पा सम्झौताको केही बुदामा रास्ट्रघात भएको बारे सर्वत्र बहस भएको थियो।

प्रधानमन्त्री ओलि सरकारले हालसालै सार्वजनिक गरेको नयाँ नक्साले भारत र नेपाल दुवै देशमा यश बिसयलाइ लिएर देशको सबै तप्कामा बहस चलिरहेको छ। नेपालले आफ्नो भूमिको सुरक्षामा नक्सा मार्फत सकारात्मक कदमको सुरुवात गरेको बेला प्रचण्डको मौनता र बाबुरामको जलेबी असन्तुष्टि आश्चर्यजनक छ।

नेपालले नक्सा सार्वजनिक गरेको भोलिपल्टै भारतिय पुर्व मेजर जनरल जि.डि. वक्सीले एउटा टिभी अन्तर्वार्तामा उनले यस्तो गम्भीर अभिव्यक्ति दिएका छन् –

-माओवादीलाई हामिले पाल्यौं । 
-नेपालको हिन्दु रास्ट्र हामीले समाप्त पार्यौं । 
-राजा सेना सङ्ग लड्न भारतको काङ्ग्रेस सरकार मार्फत माओवादीलाई हतियार दियौं । 
-जेएनयुमा कम्युनिस्ट उत्पादन गरेर नेपाल पठायौं । 
-आन्तरिक मामिलामा हस्तक्षेप गर्न मासिक करोडौं रुपैयाँ लगानी गर्यौं र यो सब परिपुर्ति गर्न काङ्ग्रेस आइको सरकारले गर्यो ।

मेजर जनरलको यो अभिव्यक्तिमा भारतिय जनता पार्टीका प्रबक्ता प्रेम शुक्लाले पनि उस्तै अभिव्यक्ति दोहोर्‍याएका छन् –

प्रचण्डलाई जेएनयुमा पालेर हिन्दु रास्ट्र र नेपाली सेना विरुद्धमा लाग्न प्रेरित गर्यो भारतिय काङ्ग्रेसको बिगत सरकारले अहिले हामी प्रती नै यस किसिमको सिलसिला ? मैले यहा प्रतिनिधि अभिव्यक्ति मात्र उल्लेख गरेको छु, टुइटरमा भारतिय प्रभुत्व वर्गबाट यसकिसिमका टुइटहरु लगातार आइरहेका छन् ।

यसै विषयमा एभिन्युजका टिभी पत्रकार प्रेम बानियाले आफ्नो अन्तर्वार्ता कार्यक्रममा बाबुरामलाई प्रश्न सोधेका थिए तर बाबुरामले त्यस प्रश्नमा गम्भीरता नै जाहेर गरेनन् , टिप्पणी गर्न लायक विषय होइन भनेर टारिदिए।

कोभिड-१९ कोरोनाको आड लिएर नयाँ नक्सा संबंधित राष्ट्रिय हितको बहसलाइ शब्दजाल मार्फत ओझेल पार्न खोजिएको उनका अभिव्यक्तिले अनुभुत गराइरहेको महसुस हुन्छ, साथै प्रधानमन्त्री प्रतिको उनको इगो प्रष्ट झल्किन्छ।

बाबुरामले एउटा टुइटमा लेखेका छन् –

“मान्छे नरहे पहाडले मात्र रास्ट्र बन्ला”? उनको यो टुइटले कोभिड-१९ कोरोनाको मुखौटा लाएर नयाँ नक्साको सुन्दरतालाई कालोमोसो दल्न खोजेको उनको पछिल्लो अभिव्यक्तिहरुबाट अनुभुती भैरहेको छ।

तत्कालीन माओवादीको दस्तावेजमा पनि भारतलाइ प्रधान दुश्मन चित्रण गर्ने प्रचण्डले आजभोलि मौनब्रत लिएको देख्दा “दालमे कुछ काला हैं” भन्ने हिन्दी भाषाको यो काहावत पनि सान्दर्भिक लाग्न थालेको छ।

प्रचण्डको मौनता र बाबुरामको जलेवी असन्तुष्टिले भारतिय मेजर जनरल र भारतिय जनता पार्टीका प्रबक्ताले दिएको अभिव्यक्तिलाई मौनता र असन्तुष्टिको माध्यमबाट अनुमोदन भैरहेको त छैन? भन्ने प्रश्नलाई राजनीतिक चासो राख्नेहरले पनि वास्ता नगरेको देखिन्छ।

लामो समय देखिको नेपाल भारत सिमा समस्या यसकिसिमले पब्लिक भएको यो पहिलोपटक हो। भारतले गत नोभेम्बरमा कस्मिर र लद्दाखलाई समेटेर सार्वजनिक गरेको भारतिय नक्सा र केहिदिन अघि भारतका गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेको मानसरोवर सडक घटनाको प्रती घटनामा नेपालले पनि नयाँ नक्सा सार्वजनिक गरेपछि दुवै देशका प्रभुत्व वर्ग एवं आम मानिसले समेत आ-आफ्नो देशको पक्षमा दलिल राखिरहेको अवस्था छ।

सार्वभौम नेपालको प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा प्रतिपक्षी रहेको नेपाली काङ्ग्रेसले समेत सरकारलाइ साथ दिदै एकमत जनाएको स्थितिमा प्रचण्डले “मौनता देखाउनु” र बाबुरामले “मान्छे नरहे पहाडले मात्र रास्ट्र बन्ला” ? “भारतलाइ चिढ्याउनु हुदैन” जस्ता शब्दावलीको राजनीति गरेर राष्ट्रिय तर्क, बहस, बिचार, अभिमत, एकतालाई बिभाजित गर्नखोज्नु र भारतिय मेजर जनरल र बीजेपीका प्रबक्ताको अभिव्यक्तिलाई जोडतोडले खण्डन/खारेज नगर्नुलाई रहस्यमय ठानिन थालिएको छ।

केही साथिहरुले सामाजिक संजालमा अहिलेको विवादित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरौं भनेर पहिलोपटक बोल्ने डा. बाबुराम भट्टराई नै हुन् भन्दै प्रचार पनि गरेको पाइन्छ। त्यसो हो भने एउटा प्रश्न उब्जिन्छ, आफ्नो प्रधानमन्त्रीकालमा बाबुरामले लिम्पियाधुरा/लिपुलेक कालापानी विवादित भूमि सम्बन्धमा के गरे? केही गरेको भए त्यसको प्रगती विवरण खै? मात्र कोरोनालाई उछाल्दै बिदेशमा रहेका नेपाली मजदुरहरुको सेन्टिमेन्ट बटुलेर जात र धर्मको बखेडामा राष्ट्रिययता परिभाषित हुदैन बाबुराम महोदय।

देश भित्र अझै समस्या छन् ती समस्याहरुको राजनीति र सिमा समस्याको राजनीति एउटै होइनन् , उक्त दुवै समस्याहरुलाइ एकैठाउमा जोड्नु कत्तिको जायज हो? बाबुराम महोदय तपाइले गर्ने देश भित्रको आन्तरिक राजनीति प्रती सहमत हुन सकिएला तर तपाइले गरिरहनु भएको अन्तर्राष्ट्रिय राजनीति खासगरी सिमा समस्याको सम्बन्धमा कुनैपनी कोणबाट सहमत हुन सकिँदैन।

सहमत हुन नसकिने अर्को विषय प्रचण्डको मौनता हो। न्यायपुर्ण जनयुद्धका सर्वोच्च लिडर, पुर्व प्रधानमन्त्री, शक्तिशाली रुलिङ पार्टीका दोस्रो अध्यक्ष, असमान सन्धी सम्झौताका तत्काली प्रमुख बिरोधि प्रचण्डले आफ्नो देशको भूमि अतिक्रमणको विषयले चरम रुप लिरहेका बेलामा समेत मौन देखिनुले फेरिपनी भारतिय मेजर जनरल र बीजेपीका प्रबक्ता प्रेम शुक्लाको अभिव्यक्ति सम्झिन बाध्य भएको छु।

१२ जेष्ठ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको