कामीको प्रेम छुवाछुतको छुराले छियाछिया पारेपछि…!


‘पश्चिम रुकुममा आज मान्छे मारे रे भन्या त, होइन रैछ, कामी पो परेछ’ यो भनाई यतिखेर सामजिक संजाल फेसबुकभरि देखिन्छ । जुन भनाई विभेदका बिरुद्द लडिरहेका उत्पीडित जाति दलितहरुको पिडामा लडिरहेको छ । डाक्टर मित्र परियारको उक्त भनाई सामाजिक विभेद बोकिरहेका दलितको आत्मा बोलिरहेको छ, जसले यो समाजमा बस्ने दलितहरुलाई मानवको हैसियत भन्दा टाढा राखेको  आशय व्यक्त गरेको छ ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।

नबराज बिकको गल्ती यति मात्रै थियो कि उसले मल्ल ठकुरीको छोरीसङ्ग प्रेम ग-यो । के प्रेमिले प्रेमिकालाई प्रेम गर्नु अपराध थियो ? मान्छेले मान्छेलाई प्रेम गर्नु अपराध थियो ? नवराजसँग गएका अन्य युवाहरुलाई पनि बेपत्ता पारियो । यो अत्याचार कहिलेसम्म ? मान्छेले मान्छे माथिको विभेद कहिलेसम्म ?

युगौदेखि चलिरहेको यो सिलसिला कहिले रोकिन्छ ? कसले रोक्छ ? राज्यले रोक्ने कि नागरिक स्तरबाट रोक्ने ? नबराज बिकको हत्याले २१औं शताब्दीका मान्छेको चेतना माथी प्रश्न उठाएको छ । यो समस्या हरेक टोलटोलमा छ, गाउँगाउँमा छ । बस्तिबस्तिमा छ । सबैको मस्तिष्कमा यसले डेरा जमाएर बसेको छ । भलै भनिन्छ, जातपात र छुवाछूतको जमाना गइसक्यो । यो त केवल मुख मिठ्याउने बाटो मात्रै हो । छुवाछूत अहिले पनि जस्ताको तस्तै छ । होइन भने नबराज बिकहरु किन मारिए ? बिषय गम्भीर छ ।

युगौयुग देखि मारिदै आए नबराजहरु । कहिले शुद्रको नाममा मारिए, कहिले मासिन्न्या मतवालीको नाममा मारिए, कहिले दलितको नाममा मारिए, कहिले शिल्पकारको नाममा मारिए । किन मारिए ? समस्या के हो ? शुद्रदेखि शुरु भएको अत्याचारको यो अनबरत सिलसिला दलित र शिल्पकारसम्म आइपुग्दा मारिने क्रम रोकिएको छैन ।

केही दिन अगाडी मात्रै पश्चिम नेपालको कुनै गाउँमा पानी छोएको निहुँमा एकजना दलित महिला माथी कुटपिट भयो । काठमाडौको कुनै सस्कृती बिद्यालयले दलित बच्चाहरुलाई भर्ना नलिएको समाचारहरु पढ्यौं । यहाँ के भइरहेको छ ? किन यस्तो भइरहेको छ ? कारण हो जात ।
जातजातीहरु कसरी सिर्जना गरिए ? कसले सिर्जना ग-यो ? किन गरियो ? कसको स्वार्थ अनुकुलमा निर्माण गरिए ? कसले यो नियम बनायो ? कहिलै हामी माथिका नेतृत्वलाई प्रश्न सोधिनौ ।

हामीले सोधेनौं, त्यो हो हाम्रो नामको पछाडी झुण्डिएको टाइटल । त्यो टाइटल किन राखियो ? यसको फाइदा के छ ? नराखे के हुन्छ ? यसको बेफाइदा के ? हामी केल्याउन सकेनौ । हो समाज बिभाजनको कारण नै यहि टाइटल हो । जसलाई हामी पहिचान नाम दियौं । संस्कारको नाम दियौं । भन्यौं, पहिचान र संस्कारको रक्षा गर्नुपर्छ । एकातिर जातपात र छुवाछूतको बिरोध गरेजस्तो गर्न लगाउने, अर्कातिर जातिय नाममा नागरिक उचाल्ने । हामी चाहिँ उचालिने । यो कहिले बुझ्छौँ ।

पश्चिम पहाडका गाउँहरुमा हेरौं, त्यहाँका दलितहरुको अबस्था कस्तो छ ? उनिहरुको पेट भोकै छ । सामाजिक अपमान उस्तै छ । नबराज मारिनुको कारण पनि यहि हो । यो अन्तिम मृत्यु पनि होइन ।

नाम के हो ? फलानो । अनि ? नामको पछाडीको थर पनि खोज्छ सोध्छ, यो समाज र राज्यले । आफ्नो जात खुलाउनु भएन भने सरकारी काममा तपाईंको काम छैन । सरकारी कामकाजका लागि जात चाहिन्छ चाहिन्छ । तब जातको संरक्षण कसले गरिरहेको छ ? राज्यले । यहि राज्यले भन्छ छुवाछूतको भेदभाव राख्नु हुँदैन । राज्यको चरित्र दोहोरो छ । सरकार, एउटा कुरा गर कि छुवाछूत लागू गर, कि जातपात खारेज गर । द्वैध चरित्र किन देखाउछौ ?

राज्यले किन द्वैध चरित्र देखाइरहेको छ ? किनभने हामीलाई भिडाएर त्यसभित्र राजनिती गर्न चाहन्छ । जात भनेको दक्षिण एसियाली समाजको सम्पुर्ण प्रणाली हो । जातले फुटाउछ । मिल्नै दिदैन ।

३५०० बर्ष अगाडी देखि शुरुभएको शुद्र बनाइएका आजका दलितहरु, अछुत हुँदै, १९१० मा आएर जंगबहादुरको मुलुकी ऐनले मासिन्न्या मतवालीमा राख्यो, त्यसपछि २०२४ सालमा भारतबाट दलित शब्द निर्यात गरेर नेपालका मासिन्न्या मतवाली मध्येका ३५०० बर्ष अगाडी शुद्र बनाइएका मान्छेहरुको न्वारान गरियो दलित भनेर ।

अहिले कताकता दलितलाई शिल्पी पनि भनिएको सुनिन्छ । समुदायको जुनसुकै नाम राखेपनि यदि राज्यले जातिय थरलाई निरन्तरता दिन्छ भने त्यसको काम छैन । नबराज बिकहरुको हत्या रोकिने छैन । हामी जातमा गर्व नगरौं, यसले मानबिय सिमा मेटिदिन्छ । मानबता हराएको वेला मानबताको पहिचान हुनैपर्छ । मानबताबाद भन्दा ठूलो पहिचान अरु हुनसक्दैन । यसलाई जोगाउनको लागि छुवाछूत र जातजातिले झेलिएको समाजिक जन्जिरहरुलाई धुलोपिठो बनाउन सचेत युवाहरुले एकपटक ऐतिहासिक जोखिम उठाउन ढिलाई गर्नु हुँदैन ।

१२ जेष्ठ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको