‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखियो’


बैशाख १३, काठमाडौं । क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको छ ।

देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कुन ठाउँको क्वारेन्टाइनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन् । क्वारेन्टाइनस्थल व्यवस्थित बनाउन उनले सबैलाई आग्रह समेत गर्नुभएको छ । अहिलेको अवस्थामा गर्भवती महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणिय स्वास्थ्यमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् ।

शुक्रबार नै झापामा एक जना कोरोना संक्रमित देखिएका छन् । झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । चैत ४ गते उनका छोरा दुबइबाट फर्किएका थिए ।

संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । अहिले सबैभन्दा बढी विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १-१ जना गरी देशभरी ३७ जना उपचाररत छन् । उपचाररत रहेका छन् ।

परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडिटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाकाअनुसार पिसिआर विधिबाट ९ हजार ६ सय ६६ र आरडिटी विधिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए ।

सुदुरपश्चिम प्रदेशमा आरडिटी परीक्षण सबैभन्दा बढी गरिएको छ । शनिबारसम्म त्यहाँ १० हजार २ सय ४ वटा नमुना परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार १ सय ६०, प्रदेश नम्बर २ मा ४ हजार ४४ र बागमती प्रदेशमा ७ हजार ४ सय ६७ नमुना परीक्षण भएका छन् । गण्डकी प्रदेशमा ४ हजार ८ सय ६१ प्रदेश नम्बर ५ मा २ हजार ९ सय ५० र कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ वटा परीक्षण भएका छन् ।

देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ गरी बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए ।

१३ बैशाख २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको