मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी


फागुन १३, काठमाडौं । संचार क्षेत्रमा क्रियाशिल संचारकर्मी र मिडियाका व्यवस्थापकहरुले आफुलाई समय अनुसार भूमिका परिवर्तन गर्दै लैजानु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सोमवार सेफर्ड कलेजले काठमाडौंमा आयोजना गरेको पत्रकारिताका चुनौती र भूमिका विषयक कार्यक्रममा राजनीतिक विश्लेषक तथा नेपाल समयका सम्पादकीय निर्देशक मुमाराम खनालले अहिले डिजिटल मिडियाको समयमा स्रोतको उपलब्धता प्रयाप्त भएपनि त्यसलाई अवसरको रुपमा लिन संचारकर्मीहरु चुकेको बताए ।

उनले पत्रकारितामा नैतिकता भन्ने चिज हराउँदै गएको बताउँदै यसले पत्रकारलाई मात्र नभएर पाठकलाई पनि चुनौती खडा भएको बताए । उनले भने,‘पत्रकारिताले उठाउने इस्यूहरु प्रयाप्त छन्, तर त्याहाँसम्म पुग्ने प्रयत्न भएको छैन, यो विषयमा बहस सुरु हुन जरुरी छ ।’

सेफर्ड कलेज तथा नेपाल समयका प्रबन्ध निर्देशक तरुण प्रताप साहले संचार माध्यमले कस्ता विषयवस्तु उठान गर्ने र कसरी अगाडी बढ्ने भन्ने कुरामा संचारकर्मी र मिडिया हाउस विचको समन्वय जरुरी भएको बताए । ‘हामी त्यस्तै पत्रकारिताको अध्यापनबाट त्यस्तै सक्रिय र यस क्षेत्रमा योगदान दिने जनशक्ति उत्पादन गर्ने अभियानमा छौं,’ उनले भने,‘ समर्ग पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट भिजन बनाउनको लागि साथ दिन हामी तयार छौं ।’

राष्ट्रिय समाचार समितिका सुर्यचन्द्र बस्नेतले अहिले पत्रकारितामा तथ्यहरुमा केन्द्रित रहने प्रवृति हराउँदै गएको बताए । ‘पत्रकारितामा तथ्य भन्ने चिज हराउँदा उल्टो पाठक भ्रमित हुने काम भएको छ, कसैले प्रस्तुत गर्ने गतल तथ्यलाई गलत भन्ने सामथ्र्य पत्रकारमा छैन,’उनले भने,‘ यो अवस्थामा पत्रकारले नै भ्रम चिर्न नसके कसले गर्ने ? सोंच्न जरुरी छ ।’

पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले अहिले जो कोहीले पनि एउटा मिडिया मात्र पढेर धारणा बनाउन नसक्ने दुखत अवस्था परिस्थिति सृजना भएको बताए । ‘यसले पत्रकारिताप्रतिको विस्वसनीयता हराउँदै गएको छ, अर्को तिर राज्यले स्वतन्त्र पत्रकारितामा हस्ताक्षेप गर्दै आएको अवस्था छ, उनले भने,‘ पत्रकारले हिँडेको बाटो र प्रवृति गलत छ की भन्नेमा पनि ध्यान दिनुपर्ने वेला आएको छ ।’ उनले मिडियामा लगानी गर्ने लगानीकर्ताले समेत आफ्नो प्रभाव जमाएर मिडियालाई आफु अनुकुल बनाउन लागेको गुनासो गरे । उनले भने,‘यस्तो अवस्थामा पत्रकारले मात्र नैतिकताको कुरा गरेर नपुग्ने हुनाले सबै क्षेत्र सुध्रन आवश्यक छ ।’

पत्रकार महासंघका सदस्य राधेश्याम दाहालले पत्रकारिता गर्ने पछिल्लो पुस्ता जिम्मेवार भएर पत्रकारिता गरिरहेको र गर्न सक्षम भएको भएको भन्दै नैतिकता भन्दा पनि नियतले अफ्ठ्यारो पारिरहेको बताए । उनले अहिले मिडिया खोल्नेले पत्रकारिताको हितको लागि भन्दा पनि आफ्नो स्वार्थका लागी मात्र मिडिया खोलेको आरोप लगाए । पत्रकार तिर्थ पौडेलले अहिले आम नागरिकले पत्रकारिता र पत्रकार भन्ने नै को हो भन्ने स्थिति आएको बताए । ‘यस्तो हुनुमा पत्रकारिताका एजेण्डा आम नागरिक केन्द्रित भएनन्,’ उनले भने ,‘पत्रकारलाई थप शिक्षित र अग्रजले सही बाटो देखाइदिनुपर्यो ।’

पत्रकार बिक्रम गिरीले पत्रकारितामा मिडिया हाउसका मालिकको हालीमुहाली भएकोले मिडिया मालिकले के कालागि मिडिया संचालन गरेको हो स्पष्ट हुनुपर्ने बताए । ‘मिडियालाई गलत तरिकाले प्रयोग गरेर फाइदा उठाउने काम भएको छ,’ उनले भने,‘मिडियाकर्मीले उठाएका एजेण्डालाई संस्थागत गर्ने र प्रोत्साहन गर्ने काम भएको छैन ।’

कार्यक्रममा सेफर्ड कलेजका प्रमुख कविता शर्माले विषय उठान तथा कार्यक्रमको उद्धेश्य माथी प्रकाश पारेकि थिईन । कार्यक्रममा बिभिन्न संचार संस्थामा कार्यरत दुई दर्जन पत्रकार तथा व्यवस्थापकको उपस्थिति रहेको थियो ।

१३ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको