बालुवाटार पुगेर सम्बोधन गर्दै बादलले लगाए प्रचण्ड-नेपाल समुहलाई गम्भीर आरोप

फाइल तस्बिर

पुस ९, काठमाडौँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिँदै बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्नेमा जोड दिए । ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’, बादलले भने।

नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताएका छन्। उनले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिए।

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’

बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाएका छन् । उनले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताएका छन्।

उनले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई दृढतापूर्वक अगाडि बढाउने विश्वासमेत व्यक्त गरेका छन्।

‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भनेका छन्, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ।’

उनले कम्युनिस्ट आन्दोलनको एकता र मुलुकको स्थायित्वका लागि भूमिका निर्वाह गरिरहेको नेतृत्वलाई साथ दिन बैठकमा उपस्थित भएको उल्लेख गरे।

‘कम्युनिस् आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन म यहाँ उपस्थित भएको छु’, बादलले भनेका छन्।

९ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको