पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग


कात्तिक ८, काठमाडौं । नेपाली कांग्रेसले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेका छन्।

हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको श’व रहिरहनु दुखद् भएको कांग्रेसको भनाइ छ। पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ।

यसका साथै पार्टीले निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अविलम्ब सुरू गर्न समेत संघीय र प्रदेशलाई आग्रह गरेको छ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए।

त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

२०७७ कार्तिक ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको