बैशाख १२, काठमाडौँ । अन्ततः रोल्पाको गंगादेव गाउँपालिकाले जिल्ला बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
मंगलबार पोष्टपाटीले रोल्पाको गंगादेवमा बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा नराखिने, प्रजिअ भन्छन- ‘अनिवार्य राख्नुपर्छ’ भन्ने शिर्षकको समाचार प्रकाशित गरेपछि गाउँपालिका अध्य्क्ष वीर बहादुर खत्रीले विहिबार बिहान गाउँपालिकाका ७ ओटै वडाध्यक्षलाई जिल्ला बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।
अहिले गाउँपालिकाका सबै वडाध्यक्षलाई अध्यक्ष खत्रीले आवश्यकता अनुसार सबै वडामा रहेका स्कुललाई क्वारेन्टाइन बनाएर राख्न निर्देशन दिएको गंगादेव ३ का वडाध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।
रोल्पाका ९ वटा स्थानीय तहले जिल्ला बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि अध्य्क्ष खत्रीको तिब्र आलोचना भएको थियो । जिल्ला बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइन राख्नुपर्ने र नराखे जिल्ला नै असुरक्षित हुने भन्दै चारैतिरबाट खत्रीमाथि तिब्र दबाब परेपछि क्वारेन्टाइनमा राख्न बाध्य भएको स्रोतले जनाएको छ ।
उनले मंगलबार पोष्टपाटीसँग कुरा गर्दै यसअघि विदेश र भारतबाट फर्किने नागरिकलाई मात्रै क्वारेन्टाइनमा राख्ने र देश भित्रबाट आउने नागरिकलाई होम क्वारेन्टाइनमा राख्न गरेको निर्णयलाई नै निरन्तरता दिने सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको बताएका थिए ।
कार्यपालिकाको बैठकले होम क्वारेन्टाइन नै सुरक्षित रहेको निष्कर्ष सहित क्वारेन्टाइनको ब्यबस्था नगर्ने निर्णय गरेको बताएका थिए । उनले होम क्वारेन्टाइन भन्दा क्वारेन्टाइन असुरक्षित भएको दावी समेत गरेका थिए ।
अन्य गाउँपालिकाले ब्यबस्था गरेको क्वारेन्टाइनलाई केवल राहत वितरणको लहरका रुपमा लिएको आरोप समेत लगाएका थिए । क्वारेन्टाइन भन्दा होम क्वारेन्टाइन कोरोना रोकथामको लागि बस्तुनिष्ट हुने उनको दाबि समेत थियो ।
गाउँपालिका अध्यक्षको निर्देशनपछि सात ओटै वदाध्यक्षले जिल्ला बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न सुरु गरिसकेका छन् ।
वडा न १ मा राष्ट्रिय मावि मेलडारी ओतको स्कुललाई क्वारेन्टाइन बनाएको वडाध्यक्ष अजमत डाँगीले जानकारी दिए ।
उनले भने- ‘अहिलेसम्म यहाँ हामीले ४८ जना राखेका छौ, सबैलाई जहाँबाट आएको हो त्यसै अनुरुप ९ ओटा ग्रुप बनाएर राखेका छौ, ९ ओटा ग्रुपले छुट्टाछुट्टै खान बनाएर खाइरहेका छन् ।,’ बाग्लुङबाट आएका दुईजनालाई भने छुट्टै घरमा राखेर खाने बस्ने व्यवस्था गरेको अध्य्क्ष डाँगीले जानकारी दिए । अझै ५० जना भन्दा बढी मजदुर आउन लागेको उनले बताए ।
यस्तै वडा न २ को चौतारा स्कुलमा क्वारेन्टाइन बनाएर भक्तपुर र ललितपुरका इँटाभट्टाबाट आएका ११ जना मजदुरलाई राखिएको छ । जसमा दुईजना बालबालिका रहेका छन् ।
यस्तै वडा न. ३ का दुई स्कुललाई क्वारेन्टाइन बनाएको वडाध्यक्ष जलेश कुमार केसीले जानकारी दिए । उनले नाउलीको श्री बिरेन्द्र माध्यमिक विद्यालय र पाथीहाल्नको श्री सिद्दार्थ नमुना माध्यमिक बिद्यालयलाई क्वारेन्टाइन बनाएको बताए ।
अध्यक्ष केसीले भने- अहिले पाथीहाल्नको स्कुलमा दोलखाबाट १५ , सिन्धुपाल्चोकबाट ५, भक्तपुरबाट ३ , ललितपुरबाट ३ र काठमाडौँबाट ४ जना गरि जम्मा ३० जना राखेका छौ, त्यसमध्य ३ जना बैशाख १ गतेदेखि बसेका छन्, उनिहरुलाई केहि दिनमा घर पठाउने तयारि गरेका छौ, अरु सबै वैशाख ११ गते आएका हुन् ।,’
नाउलीको बिरेन्द्र माविको क्वारेन्टाइन भने अहिलेसम्म प्रयोगमा नआएको उनले बताए । क्वारेन्टाइनमा रहेका सबैलाई गाउँपालिकाले खान बस्नको व्यवस्था गरेको उने बताए ।
यस्तै वडा न ४ को बेसारेचौर स्कुलको क्वारेन्टाइनमा बैशाख ११ गते काठमाडौँबाट आएका ३ जनालाई राखेको वडाध्यक्ष राम बहादुर ओलीले जानकारी दिए ।
उनले भने- ‘बैशाख ८ गते आएका ५ जनालाई होम क्वारेन्टाइनमा राखेका छौ,’ उनीहरु पनि बस चढेर काठमाडौँबाटै आएका हुन् ।,’ आफ्नो वडाबाट जिल्ला बाहिर रहेको संख्या न्यून रहेकाले एउटै स्कुललाई क्वारेन्टाइन बनाएको उनले जानकारी दिए । सिरियस विरामी भएको र विदेशबाट आएकालाई राख्न छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको अध्यक्ष ओलीले जानकारी दिए ।
यस्तै वडा न ५ मा श्री नेपाल राष्ट्रिय मावि आधारभूत बिद्यालय रातामाटा र झाक्रीसल्लामा रहेको बालबोध आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाएको वडाध्यक्ष मान बहादुर डाँगीले जानकारी दिए ।
उनले श्री नेपाल राष्ट्रिय मावि आधारभूत बिद्यालयमा २६ जना राखेको जानकारी दिए । उनले भने- ‘९ जना मकवानपुरबाट आएका हुन्, १५ जना काठमाडौँको आरके इट्टाभट्टाबाट आएका हुन् र अर्का १ जना रौतहटबाट आएका हुन् ।,’ काठमाडौँबाट २ जना र दोलखाबाट ७ जना आइरेको र उनीहरु सबैलाई रातामाटाको स्कुलमा बनाइएको क्वारेन्टाइनमा राख्ने तयारि गरेको उनले बताए ।
यस्तै सोहि वडामा रहेको बालबोध आधारभूत विद्यालय झाक्रीसल्लामा पोखराबाट आएका ८ जनालाई राखिएको अध्यक्ष ओलीले जानकारी दिए ।
यसैगरि वडा न ६ को सरस्वती आधारभूत बिद्यालय बललेपोखरी रांकमा रहेको स्कुललाई क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १४ जनालाई राखिएको बताइएको छ ।
यसैगरि वडा न ७ मा सिद्धेस्वरी प्राथमिक बिद्यालय घरेलीडाँडामा १२ जना र पृथ्वीनारायण बिद्यालयमा २० जना गरि जम्मा ३२ जना क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष तुल बहादुर घर्तिले जानकारी दिए । जसमध्य १३ जना महिला १९ जना पुरुष रहेका छन् ।
उनले भने- एकजना मकवानपुरबाट आएका हुन्, अरु सबै काठमाडौँ उपत्यकाका विभिन्न इट्टाभट्टाबाट आएका हुन् ।,’ अझै आफ्नो वडामा ४५ जना आउने सम्भावना रहेकको अध्यक्ष घर्तिले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस