बैशाख १२, काठमाडौं । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको छ ।
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।
त्रिपक्षीय भेटमा पछिल्लो परिस्थिति र परम्पर समझदारीमा नेताले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटारमा सामुहिक भेट र छलफल जारी’, सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड ।’
यसअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । नेताहरुको भेटमा कोरोना भाइरस (कोभिड–१९) र पछिल्लो संकटको विषयमासमेत कुराकानी भएको छ ।
सबैतिरबाट चर्को विरोध र आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश शुक्रबार खारेज भएका छन्।
मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
सरकारको निर्णयको आधारमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने संवैधानिक व्यवस्था छ । दुवै अध्यादेशको पार्टीभित्रै र नागरिक स्तरबाट चर्को आलोचना भएको थियो।
देउवा बालुवाटारमा: प्रधानमन्त्रीसँग समसामयिक छलफल
अध्यादेशको प्रमुख प्रतिपक्षी दल कांग्रेससहित सत्तारुढ दलका अधिकांश नेताले विरोध गरेका थिए । दुवै अध्यादेश खारेज भएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग दुई अध्यक्षले भेट गर्नुलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस