फागुन १२, दोहा । कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट दोहा आउने यात्रुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने बताएको छ।
इरान र दक्षिण कोरिया कोरोनाबाटग्रस्त मूलुक हुन् । हालसम्म कोरियामा कोरोनाबाट संक्रमितको संख्या ७६३ पुग्दा त्यहाँ ७ जनाको ज्यान गइसकेको छ। यस्तै इरानमा ४३ जना संक्रमित भेटिँदा त्यहाँ ८ जनाको ज्यान गइसकेको छ।
कतारमा हालसम्म कोरोनाबाट संक्रमित भेटिएका छैनन्। कोरोना फैलन त्रासका कारण कतार एयरवेजले कतार फर्किएपछि आफ्ना यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएको हो।
कतार एयरवेजले भनेको छ,‘कोरोनाको संकेत देखिएका यात्रुलाई हामीले हामद मेडिकल कर्पोरेसनमा राख्ने निर्णय गरेका छौं।’
यस कार्यमा साथ दिन कतार एयरवेजले आग्रह गरेको छ। चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ७९ हजार नाघेको छ।
सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार १ सय ४० पुगेको हो। जसमध्ये चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना संक्रमित भएका हुन्।
यसैगरी अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै २ हजार ४ सय ४२ जनाको मृत्यु भएको हो। चीनबाहिर २६ जनाको मृत्यु भएको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस