आफ्नै बिहेको निम्तो दिइ अस्ताइन् रमिता


माघ १०, कञ्चनपुर । यही माघ १३ मा हुने आफ्नो विवाहलाई लिएर खुसी थिइन रमिता । उनले बिहीबार यही खुसी साट्दै थिइन् आफन्त तथा साथीभाइसँग।

उनकाे याे खुसीमाथि दैवकाे आँखा लाग्याे, खुसी धेरै टिक्न पाएन। विवाहकाे निम्ता साथीहरुलाई बाँडन हिड्दै गर्दा उनले याे संसार छाेडिन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट(रोशनी)को मृत्यु भयाे। बिहीबार अपरान्ह ग्राभेल बोकेको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिएर बैतडीको दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया रमिताकाे घटना स्थलमै मृत्यु भएकाे हाे।

जिल्लाको भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। रमिताकाे प्रकाश टेरसँग विवाह हुँदै थियो। विवाहकाे निम्ताे दिनकै लागि उनी गोबरैया डेराबाट साइकलमा बजार निस्किएकी थिइन्।

रमितालाई टिपरको पछाडीको चक्काले टाउको किचेपछि घटनास्थलमा नै ज्यान गएकाे थियाे। घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटरकाे दूरी पश्चिममा भएको हो।

घटनापछि स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथि ढुङ्गामुढा गरेका थिए। भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाहीको माग गरेका छन्।

कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे। मृतककाे शव महाकाली अस्पतालमा राखिएको छ।

१० माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको