नेकपामा प्रचण्ड र नेपाल दुवै ‘कार्यकारी अध्यक्ष’


पुस ८, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ ।

उक्त समूहका नेताहरू सम्मिलित केन्द्रीय समिति बैठकले मंगलवार ओलीलाई अनुशासनको कारबाही गर्दै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकतापछि महाधिवेशनसम्म २ अध्यक्षात्मक प्रणाली अवलम्बन गर्ने निर्णय भएको थियो । विधानको त्यही व्यवस्थाअनुसार ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्ष बनाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी जनभावनाविपरीतको स्वेच्छाचारी कदम चालेकाले पार्टी अन्तरिम विधान २०७५ को धारा ५६ (क) अनुसार अनुशासनको कारबाहीस्वरूप अध्यक्ष पदबाट हटाउने निर्णय भएको नेकपाले जनाएको छ । यो समूहको निर्णयअनुसार अध्यक्षमा दाहाल र नेपाल रहनेछन् ।

दुवै नेताले आलोपालो पार्टी बैठकको अध्यक्षता गर्ने गरी विधानको व्यवस्थाअनुसार काम गर्नेछन् । दुवै नेता कार्यकारी हुने र दुवैले आलोपालो बैठकको अध्यक्षता गर्ने स्थायी समिति सदस्य योगेश भट्टराईले बताए ।

स्थायी समितिको पुस ५ गतेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । ४४७ केन्द्रीय सदस्यमध्ये ३१५ जना उपस्थित बैठकले ओलीलाई सर्वसम्मत रूपमा अध्यक्षबाट हटाउने निर्णय लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । दाहाल–नेपाल समूहको दाबीअनुसार यो उपस्थिति एकता गर्दाका बेलाको कुल केन्द्रीय समितिको ७०.४६ प्रतिशत हो ।

वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्य प्रभु साहबाहेक अन्य नेताले उक्त प्रस्तावमा विमति राखेनन् ।

साहले विगतमा पनि २ अध्यक्ष हुँदा शक्ति संघर्ष चलेको र पार्टी विभाजनसम्मको अवस्थामा पुगेकाले अब उही अन्तरविरोधको पुनरावृत्ति आउन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताएका थिए । दाहालले पार्टी एकताको मर्म, भावना तथा विधानको व्यवस्थाका आधारमा महाधिवेशनसम्म २ अध्यक्ष रहने बताएका थिए ।

‘हिजो हाम्रो विधानमा प्रथम, द्वितीय अध्यक्ष भन्ने थिएन । हामी बराबरीका अध्यक्ष थियौं । बैठकको अध्यक्षता आलोपालो गर्ने भन्ने थियो, त्यसलाई केपीजीले तोड्नुभयो, आफैंले आफैंलाई प्रथम अध्यक्ष पनि भन्नुभयो । पछि ल ठीकै छ, कार्यकारी भूमिका लिने भन्ने हिसाबले मिल्यो । त्यसलाई पनि कार्यान्वयन गर्नु भएन,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘तर अब हामी विधानमा जे लेखिएको छ, त्यही बाटोबाट अगाडि जान्छौं । एकताको मर्म र विधानको व्यवस्था जे छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ । हामी त्यसरी नै जान्छौं ।’

यो बैठकले ओली पक्षमा लागेका अन्य नेतालाई यथावत् राखेको छ । अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि रिक्त रहेको स्थायी समिति सदस्यमा पूर्व सभामुख कृष्णबहादुर महरालाई चयन गर्ने निर्णय बैठकले गरेको छ ।

दाहाल, नेपाल र खनालले बैठकमा सम्बोधन गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीले पार्टी एकतालाई व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र प्रयोग गरेको र स्वार्थ पूरा भएपछि पटक–पटक पार्टी फुटाउन लागेको र अहिले फुटाएको बताएका थिए । ‘हामीले एकता गर्न खोजेको हो । केपी ओलीले एकताको मर्मअनुसार काम गर्ने चाहनु भएन । एकताका नाममा उहाँलाई खुशी बनाउन कतिपय कुरा लचकताका नाममा छोड्दै पनि गइयो । तापनि उहाँले न्याँक्ने काम मात्र गर्नुभयो,’ दाहालले भने, ‘पार्टी एकता फुटाउन केपी ओलीले गत केन्द्रीय समिति बैठकपछि पटक–पटक प्रयास गर्नुभयो । कहिले अध्यादेश ल्याएर पार्टी फुटाउने, कहिले कथित एमाले नामको अर्को पार्टी दर्ता गर्न लगाएर फुटाउने, कहिले अरू सबैलाई अपमान गरेर फुटाउन खोज्ने गर्नुभाथ्यो । हामीले पटक–पटक बचाउने गर्दथ्यौं । तर अहिले फेरि बेइमानीपूर्वक संसद् विघटन गरेर गैरसंवैधानिक काम गरेर पार्टी फुटाउने काम गर्नुभयो ।’

उनले ओलीले प्रतिनिधिसभा विघटन गर्न लागेको सूचना आफूले त्यसदिन बिहानै साढे ५ बजे सुने पनि त्यसपछि पनि होइन भन्दै आफूलाई ढाँटेको बताएका थिए । ‘पार्टी र जनताबीचको सम्बन्ध पनि कम्युनिस्ट पार्टीको जस्तो भएन । सुशासन पनि भएन । अनेक अनियमितताका कुरा आए । हामीले सोचेजस्तो पार्टी नबन्ने भयो भन्ने चिन्ता १८ बुँदे पत्रमा थियोे । त्यो मेरो मात्रै थिएन । हामी सबैको थियो,’ उनले भने, ‘बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने । अढाई वर्ष विचित्रको अवस्थामा बिताइयो । सचिवालय बैठकमा बोल्न पाइँदैन भनियो । अध्यक्षलाई पनि बोल्न पाइँदैन भनियो ।’

उनले बालुवाटारमा ओलीले गरेको बैठक अवैधानिक भएको टिप्पणीसमेत गरे । ‘एकतिहाइ सदस्य बसेर तीन तिहाइ थप्ने निर्णय गर्न मिल्छ ?’ उनले भने, ‘उहाँहरूको बैठक नै अवैधानिक छ, त्यो गुटको भेला हो । त्यसको अर्थ छैन ।’

उनले बालुवाटारमा भएको ओली पक्षको भेलाले वैधानिकता पाउनै नसक्ने पनि बताए । ‘६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ । निर्वाचन आयोगको नियम, कानून, ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिक छैन,’ उनले भने, ‘संवैधानिक निकायका पदाधिकारीले संविधान ऐनअनुसार विधिसम्मत ढंगले चल्नुपर्छ । हाम्रो अपेक्षा छ, विधिलाई ती सबैले सम्मान गर्नेछन् ।’

उनले दुवै समूहमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई बैठकमा आउन आग्रह गरे । प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएको उनको भनाइ थियो । उनले अहिले सरकार विघटन भएको तर प्रतिनिधिसभा विघटन नभएको तर्क गरे ।

नेपालले ओलीले निरंकुश शैलीमा पार्टी र सरकार सञ्चालन गर्ने गरेको बताए । ‘पार्टीमा किन समस्या आयो ? ओलीले आफ्नो गुटका मान्छेहरूलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेलाई अवसर नदिने एकाधिकारवादी शैली अपनाउनुभयो । यसले पार्टीमा समस्या आयो,’ नेपालले भने ।

दाहालले पटक–पटक अपमान सहेर भए पनि पार्टी एकता बचाउन धैरै कोसिस गरेको नेपालको भनाइ थियो। ओलीले बालुवाटारमा गरेको भेला गुटको मात्र भएको र त्यसले वैधानिकता नपाउने उनले बताए । ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा वैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुईतिहाइ हामी यहाँ छौं’, उनले भने, ‘सुन्दैछु, नेकपा एमाले ब्युँत्याउने रे ! पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो । त्यो अब ब्युँतन सक्दैन ।’ खनालले विधि र विधानमा पार्टी नचलेकाले समस्या आएको बताएका थिए ।

दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसका लागि थप संघर्षका कार्यक्रम आगामी बैठकले तय गर्ने नेताहरूले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

८ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको