प्रधानमन्त्रीले गोयलसंग भेटेपछि वैद्यले भने- ‘देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ’


कात्तिक ७, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेको छ ।

महासचिव मोहन वैद्य किरणले विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् ।

‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले जारी गरेको प्रेस–वक्तव्य

“यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ ।

यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।

त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दछ ।”

२०७७ कार्तिक ७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको