अमेरिकामा दुई नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि


चैत १०, अमेरिका । अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्राेतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ। यो खबर अनिल अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ। उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ।

यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो। परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ। परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन्।

अमेरिकामा सक्रमणको संख्या तीव्र

कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा बढ्दै गएको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३३,३०० नाघेको छ।

संक्रमितको अवस्था हेर्दा अमेरिकाको न्यूयोर्क राज्यमा सबैभन्दा धेरै संक्रमति छन्। यस राज्यमा १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्, भने ११७ को मृत्यु भइसकेको छ। यसैगरी वासिङटन, न्यूजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितहरुको संख्या १५ सयभन्दा बढी छ। अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भइसकेको छ भने आइतबार मात्रै ज्यान गुमाउनेहरुको संख्या करिब १०० पुगेको छ।

चौतर्फी संत्रास फैलाएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म तीनलाख ३६ हजार संक्रमित छन्, भने १४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ। हालसम्म विश्वभर करिब ९७ हजारभन्दा बढीको सफल उपचार भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ।

१० चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको