मृत्युदण्ड छिचोलेर फर्किएका उमेश भन्छन्- ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’


माघ ९, काठमाडौँ । ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने। मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल आइपुगेका हुन्।

यादवलाई पाकिस्तानी सहकर्मी मोहमद लकिफ बसिरको हत्या गरेको आरोपमा साउदी अरबको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

धनुषाका उमेश २५ वर्षको उमेरमा परिवार धान्न समस्या भएका कारण साउदी हानिएका थिए। सन् २००६ मा साउदी पुग्दा उनले लेवर काम पाएका थिए। काम पानीको पाइपलाइनमा थियो। काम गर्न थाले। एक महिना लगभग हुन लागेको थियो। सहकर्मी सिँढीमा चढेर पाइपको काम गर्दै थिए। उनी सहयोग गर्दै थिए। अकस्मात साथी सिँढीबाट झरे। चोट लाग्यो। साथीले उमेशको गल्तीले लडेको आरोप लगाए।

दुईबीच झगडा सुरु भयो। उमेशले रिसको झोकमा फलामको डण्डीले हिर्काए। ‘मलाई पनि यत्तिकै आरोप लगाउँदा रिस उठयो’, उनले भने, ‘झोकमा फलामको डण्डीले हिर्काएँ।’ लकिफ भुइँमा लडे। घटनापछि उमेश भागे। सामान्य चोट लाग्यो होला भन्ने उमेशले सोचेका थिए। तर वास्तविकता त्यस्तो थिएन। घटनाको १७ दिनपछि उमेशलाई पक्राउ गरियो। सहकर्मीको मृत्यु भएको पक्राउ परेपछि उमेशले थाहा पाए। ‘मान्छे मार्ने नै गरेर हानेको थिइनँ’, उनले भने, ‘सामान्य चोट लाग्यो होला भनेको मृत्यु नै भएछ।’

परिवारको अर्थिक अवस्था सबल बनाउन हिँडेका उमेशलाई पुगेको एक महिना मै ठूलो झड्का लाग्यो। उनलाई त्यहाँको प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ गरेको चार दिनपछि उनलाई त्यहाँको जुबेल सेन्ट्रल जेलमा राखियो। सोधपुछ गरियो। उनले हत्या गरेका थिए। उनको बच्ने कुनै उपाय थिएन।

जेलमा पुगेपछि ‘खुनका बदला खुन’ भन्ने सुने। त्यो सुनेपछि उमेशको हंशले ठाउँ छाड्यो। एकपल्ट परिवार सम्झे। त्यसबेला जीवन अब यहीँ सकियो भन्ने लागेको उनी बताउँछन्। ‘जेलमा खुनका बदला खुन भन्ने सुनेपछि मेरो होस उड्यो,’ उनले भने, ‘मैले त्यतिबेलै नेपाल फर्किन्छु भन्ने आश मारेको थिएँ।’

उनलाई पहिलोपटक त्यहाँको अदालतले ११ सय कोर्रा, ११ वर्ष जेल र देश निकाला सजाय सुनाएको थियो। तर फेरि त्यहाँको उच्च अदालतले १५ अप्रिल २०१८ मा त्यहाँको उच्च अदालतले मृत्युदण्ड सुनायो। मृत्युदण्डको सजाय सुनाएपछि उमेशको केही हुनेवाला थिएन। उमेशको पक्षबाट लड्ने पनि कोही थिएन। २०१८ को फेब्रुअरीमा नेपालका उमेशलाई मृत्युदण्ड सुनाएको खबर मिडियामार्फत नेपालका सामाजिक अभियन्ता सुरज रायले थाहा पाए। सुरजले त्यसपछि परिवारलाई सम्पर्क गरे। उमेशले त्यहाँको सरकारी फोनबाट कहिलेकाँही फोन गरेको थाहा पाए सुरजले। त्यसपछि उमेशसँग कुरा गरे।

उनले उमेशले नियतवश मारेको होइन भन्ने लाग्यो उनलाई। ‘यो मान्छेलाई बचाउँछु भन्ने लाग्यो,’ सुरजले भने, ‘उनलाई बचाउन तर त्यति सहज थिएन। किनकि त्यहाँको हरब्बा तहत (दफा) ले मृत्युदण्डको फैसला सुनाएको थियो।’ हरब्बाको दफाले पीडित परिवारको अधिकारलाई कुण्ठित गथ्र्यो। अर्थात् ब्लड मनी तिरेर उन्मुक्ति पाउने अवस्था थिएन। तर अभियन्ता सुरजले दूतावासमार्फत पाकिस्तान गएर परिवारको अवस्था बुझे। परिवारसँग कुरा गरे। परिवार ब्लड मनी पाए माफी दिन तयार भयो।

सुरजले मृतकको परिवारलाई त मनाए। तर ब्लड मनीवापतको रकम तिर्ने पैसा थिएन। सुरजले नै सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरे। त्यसपछि उमेशलाई बचाउन साउदी लागे। साउदीको अदालतले ३० दिनभित्र उमेशको तर्फबाट आफ्नो भनाइ राख्ने समय दिएको थियो। सुरजले अन्तिम समयमा त्यहाँको न्यायाधीशसँग कुरा गर्ने मौका पाए। ‘म तपाईको फैसलाको सम्मान गर्छु। तर कुरानमा पनि लेखेको छ। कसैको जीवन बाँच्छ भने त्यहाँ मानवीयताको जीत हुन्छ,’ न्यायाधीशसँगको भेटमा सुरजले भने। पीडित परिवारको वास्तविकता पनि राखे।

न्यायाधीशले सबै कुरा सुनेपछि पीडित परिवारको अधिकारलाई प्राथमिकता दिन सहमत भयो। सुरजले सबै प्रक्रिया पुर्‍याएर फाइल दूतावासमार्फत अदालतमा बुझाए। त्यसपछि पीडित परिवारले पनि फैसला भएपछि मात्र ब्लड मनी लिने मन्जुरीनामा दियो। १० फेब्रुअरी २०१९ मा सजाय माफ भयो। सम्झौता बमोजिमको रकम ३० लाख दूतावासमार्फत पीडित परिवारलाई बुझाएर उमेश बुधबार नेपाल फर्किए। अन्नपूर्ण पोस्टमा खबर छ ।

२०७६ माघ ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको