कुवेतको कोमामै अस्ताइन् २७ वर्षकी श्रम सहचारी विपना


पुस ७, काठमाडौं । काठमाडौंको कलंकीकी विपना ज्ञवाली गत साउनमा खाडी मुलुक कुवेतका लागि नेपालको श्रम सहचारी बनेकी थिइन्।

पाँच वर्षअघि शाखा अधिकृत बनेकी ज्ञवालीले प्रतिष्पर्धाबाट कुवेत जाने मौका पाएकी थिइन् । श्रम सहचारीका रूपमा कुवेत उनको पहिलो पोष्टिङ थियो ।

वैदेशिक रोजगारीका लागि धेरै नेपाली पुगेको कुवेतमा समस्या पनि धेरै हुने नै भए । विपना श्रमिकका तिनै समस्या समाधान गर्दै काम गरिरहेकी थिइन् ।

१५-२० दिनअघि उनी बिरामी परिन् । ‘जचाउँदा उहाँलाई ब्लड क्यान्सर देखियो, त्यो पनि अन्तिम अवस्थाको रैछ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव भरतमणि पाण्डेले भने,’रिपोर्ट सुनेर उहाँ सिरियस हुनुभएछ। पछि त कोमामै जानुभयो।’

कोमामा उपचार भइरहेकी विपनाको गत बिहीबार अस्पतालमै निधन भयो। विपना २७ वर्षकी मात्र थिइन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विपनाको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

मंगलबार ट्वीट गर्दै मन्त्री ज्ञवालीले भनेका छन्- कुवेतमा श्रम सहचारीका रूपमा कार्यरत विपना ज्ञवालीको २७ वर्षको अल्पायूमा भएको दु:खद निधनले नि:शब्द, स्तब्ध र मर्माहत भएको छु। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । अलविदा विपना !

उनको पार्थिव शरिरलाई काठमाडौं ल्याएर आइतबार परिवारले अन्तिम संस्कार गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

७ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको