कोरोना जोखिममा काठमाडौं उपत्यका


जेठ ९, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्।

उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ। को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए। १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको हो।

ठेगाना बाहिर, बस्ने उपत्यका

६ जेठमा स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर एकजनालाई संक्रमण भएको अपुरो जानकारी दियो। ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए। उनको घर उपत्यका बाहिर भए पनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो। उनको स्थायी ठेगाना पहाडी जिल्ला हो।

६ जेठमा नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो। उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ। १ जेठमा संक्रमित भएको पुष्टि भएका दुई बालबालिका पनि उपत्यकाबाहिर घर भए पनि काठमाडौं आएको बेला पुष्टि भएको छ।

यसअघि ३१ वैशाखमा संक्रमितको रूपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ। ३१ वैशाखमा नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको छ। वैशाख ३० गते घाँटीको समस्या लिएर आएकी एक बालिका पनि कपिलवस्तुकी थिइन्। वैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी एक महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ। उनी कलंकी डेरा लिएर बसेको पाइएको छ।

मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो। उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठेरो परिरहेको छ। तथ्य लुकाउने मनसाय होइन।’

स्वास्थ्य सेवा विभागअन्तर्गत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको कन्ट्र्याक्ट टे«सिङको अगुवाई गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षण एवं संक्रमितको कन्ट्र्याक्ट टे«सिङको बेला अधुरो विवरण राख्ने गरेकोले समस्या बढेको बताउँछन्। ‘यस खालको लापरवाहीले काठमाडौं उपत्यकाभित्र संक्रमणको जोखिम झन् बढ्छ’, डा. प्याकुरेलले भने।

राष्ट्रिय सूचना आयोगका प्रवक्ता कमला ओलीका अनुसार, मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरिएको बताउँछिन्। ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक÷फरक हुन सक्दछ। एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा अन्यौल भएको पाइएको छ’, उनले भनिन्।

आयोगले कोरोना भाइरसको संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ। सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले मंगलबार आदेश समेत दिएको छ।

स्थानीय निकायद्वारा सिल

मन्त्रालयले यस बारे विस्तृत जानकारी नगराए पनि स्थानीय निकायहरूले धमाधम सिल गर्न गर्न थालेका छन्। बुढानिलकण्ठ नगरपालिका—१२ बस्ने एक महिलामा स्वाब परीक्षणमा पोजेटिभ देखिएपछि तीन वडा सिल गरिएको छ। वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार अर्को व्यवस्था नभएसम्म स्थानीय तेन्जिङ चोकदेखि फैका चोकसम्म सिल गरिएको छ।

काठमाडौं उपत्यकाभित्र केही दिनयता दुई हजार २ सय ३६ वटा आरडीटी र एक हजार १९ वटा पीसीआर विधिबाट विभिन्न क्षेत्र र केन्द्रमा फोकस गरेर नमूना संकलन र परीक्षण गरिएको छ। ‘सबैजनाको पीसीआरको नतिजा आइसकेको छैन’, मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने।

उपत्यकाका सरसफाइ केन्द्रहरूमा गरिएको आरडीटी विधिबाट गरिएको परीक्षणमा ३१ वटामा पोजेटिभ पाइएको छ। गोंगबु क्षेत्रबाट लिइएको नमूना संकलनमा १५ वटा पोजेटिभ आएको छ। भृकुटीमण्डप क्षेत्रमा ३२ वटा पोजेटिभ पाइएको छ।

३८ जिल्लामा संक्रमण

हालसम्म ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मुलुकभर पीसीआर विधिबाट गरिएको परीक्षण संख्या हालसम्म ३८ हजार ७ सय ३६ छ। आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ पुगेको छ। ४ सय ५३ संक्रमित छन्। तीमध्ये ३८३ पुरुष र ७० जना महिला छन्। ४९ जना संक्रमित डिस्चार्ज भएका छन्। संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ। यो खबर दिनेश गौतमले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

९ जेष्ठ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको