कहिले आउँछ मौसममा सुधार ? यस्तो छ तीन दिनको पूर्वानुमान

फाइल तस्बिर

फागुन १०, काठमाडौं । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ। यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ।

अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ। प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ। उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

काठमाडौंसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन्। पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ।

फागुन ११ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरूमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहन्छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहन्छ।

राति : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहन्छ।

२०७६ फाल्गुन १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको