गल्ती गर्नेलाई पार्टीले संरक्षण गर्दैन, कारवाही हुन्छ: प्रचण्ड


फागुन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।

नवलपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्।

‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’, अध्यक्ष दाहालले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्। गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं। म अहिले यति मात्रै भन्न चाहन्छु।’

अध्यक्ष दाहालले अहिले चर्चामा रहेको एमसिसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए। कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरूले अध्ययन गरिरहेको उनले बताए।

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरूलाई आम रूपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरे। आउने दशक आम नेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उनले आग्रह गरे।

१० फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको