घोटाला भएको हो या होइन भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ: देव गुरुङ


फागुन १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले गोकुल बास्कोटाको अडियो प्रकरण दुःखद परिघट्ना भएको टिप्पणी गरेका छन् ।

बाहिर आएको अडियोकै भरमा को कति दोषी भन्न नसकिने तर यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेनुपर्ने उनको तर्क छ ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रमुख सचेतक गुरुङ भने, ‘घोटाला भएको हो या होइन भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । र, दोषीउपर आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ ।’ उनले अघि भने, ‘आशंकाका संकेतहरु देखिएका छन् । विस्तृत छानबिन गर्न आवश्यक छ ।’

ग्लोबल टेण्डरबिना सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार-सरकारबीच सम्झौता गरेर खरिद गर्नु कति उपयुक्त हो वा होइन भन्ने पूर्नविचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘कानूनी रुपमा ग्लोबल टेण्डरको प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ । तर सर्टेन कम्पनीसँग मात्रै एगि्रमेन्ट गरेर जाने जुन ट्रेण्ड देखिरहेको छ, त्यसले पनि प्रश्न उठेको छ ।’

नीतिगत विषय संसदीय समितिले पनि हेर्ने भन्दै उनले निवर्तमान सञ्चारमन्त्री बास्कोटाबाट भ्रष्टाचार भए नभएको चाहीँ कानूनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने बताए । नेकपा स्थायी कमिटी सदस्य गुरुङ भन्छन्, ‘मलाई लाग्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रक्रियाबाट सहज हुनेछ ।’

कुनै पनि भ्रष्टाचारलाई छुट दिनु हुँदैन भनेर स्वयंम प्रधानमन्त्रीले भनेको स्मरण गर्दै उनले कुनै पनि भ्रष्टाचार विरुद्धमा सरकार उभिने विश्वास व्यक्त गरे । उनले भने, ‘यो केशको सवालमा पनि उपयुक्त छानबिन गरेर दोषीउपर आवश्यक कारबाही प्रक्रिया अघि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीबाटै प्रशंसा पाएका मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारको चरित्र के हो भन्ने प्रष्ट भएको टिप्पणी गरे ।

यसअघि पनि यति, सुन, एनसेल, न्यारोबडी, वाइड काण्ड आएको भन्दै उनले भने, ‘त्यसलाई लजिकल एण्डमा लैजाने सरकार तयार देखिएन । प्रतिपक्ष पनि धेरै भलाद्मी ।जे आएपनि नमस्कार गरेर बस्ने स्थितिमा पुग्नुभएको छ ।’ हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो,अहिले प्रजातन्त्रको वैधानिकता लिएर त्यसरी नै शोषण गरिएको उनको दाबी छ ।

यो प्रकरणमा अब हुने छानबिनबारे प्रधानमन्त्रीले पनि बोल्नुपर्ने पूर्वमन्त्री लोहनीले बताए । उनले भने, ‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । किनकी आफ्नो प्रधानमन्त्रीको नैतिकता र चरित्रबारे जनता आश्वासन हुन चाहन्छन् ।’

१० फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको