डेढ करोडका अवैध मोबाइलसहित नागढुंगामा दुई पक्राउ


माघ ८, काठमाडौं । विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान राति नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार पक्राउ पर्नेमा काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाल छन्।

चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल२सीएटी ७०१७ नम्बरको कारबाट उक्त रकम बराबरको मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

इनोभा ब्राण्डको खरानी रंगको कारभित्र रहेको एयर ब्याग, सिट, डिकी लगायतलाइ फल्स बटमको रुपमा प्रयोग गरीय सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवाई, नोकिया लगायत १८ ब्राण्डका ६३४ वटा मोवाइल बरामद भएको श्रेष्ठले बताए। मोबाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर पनि बरामद भएको छ।

उक्त मोबाइलको बिल भर्पाई छैन। उक्त मोवाइलहरूको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ।
उनीहरू मोबाइल कारोबारी रहेको खुलेको श्रेष्ठले बताए। उनीहरूले यसअघि पनि भारतबाट भन्सार नतिरेका तथा चोरीका मोबाइल नेपाल ल्याउने गरेको आशंका गरिएको छ।

डिएसपी श्रेष्ठका अनुसार बरामद भएका कतिपय मोबाइल पुराना पनि छन्। पक्राउ परेकामध्ये भट्ट दृष्टिविहीन हुन्। शारीरिक रूपमा असक्त उनलाई मानवीय हिसाबले चेकजाँचमा कडाइ नगर्ने भएकाले उनले त्यसको फाइदा उठाएको श्रेष्ठले बताए।

दुबैको राजधानीमा पसल भए नभएको खुलिसकेको छैन। उनीहरूले अन्य पसलमा बिक्री वितरणका लागि मोबाइल ल्याएको आशंका गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान थालिएको श्रेष्ठले जानकारी दिए।

८ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको