माघ ८, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिरेर रिहा भएका कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन र राप्ती ब्युरो सदस्य प्रदिप वलीलाई जिल्ला अदालत परिसरबाटै बुधबार गिरफ्तार गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित दाङबाट गिरफ्तार भएका २१ जनालाई अदालतले प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले आदेश दिएकाे थियो । तर प्रहरीले पक्राऊ गर्ने भएपछि सबै कारागार चलान भएका थिए । अहिले धरौटीमा रिहा हुनेजति सबैलाई प्रहरीले पुन: गिरफ्तार गर्दै अाएको छ ।
प्रहरीले पुनः पक्राउ गरेका पोख्रेल र प्रदीप वलीलाई नवलपरासी र पाटीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनलाई काठमाण्डौ लग्ने तयारी गरेको छ ।
प्रहरीले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनलाई काठमाण्डौ मुद्दा छ भन्दै पक्राउ पुर्जी दिएको छ भने बाँकी दुई जनाको मुद्दा खुलाईएको छैन ।
प्रतिक्रिया दिनुहोस