आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्


माघ ८, सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ ।

उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानि नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए ।

किसानको आन्दोलनपछि उद्योगीले सरकार समक्ष माघको पहिलो हप्ता सम्पूर्ण रकम भुत्तानि गर्ने सहमति जनाएका थिए । तर विगत तीन वर्षदेखिको भुक्तानि नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानि दिएको छैन् ।

आन्दोलन गर्न काठमाण्डौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानि गरेको छ । अन्नपूर्णले सरकारसँग यो पटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन् । किसानलाई अघिल्ला वर्षहरुको भुक्तानि दिन नसकेर सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन् ।

चिनी उद्योग सञ्चालन नहुँदा यहाँका किसान सख्खर बनाउने क्रसर उद्योगलाई कम मूल्यमा उखु बिक्री गर्न बाध्य भइरहेका छन् । सरकारसँग सहमति भए पछि पनि पुरानो भुक्तानि नपाउँदा दुःख लागेको विष्णु गाउँपालिकास्थित बाराउद्योरणका उखु किसान अजित सिंहले बताउनुभयो । उहाँले आन्दोलन गर्न काठमाण्डौं गएका किसानले पैसा पाए पनि अरुले नपाएका जानकारी दिनुभयो । उखु किसानका अनुसार अन्नपूर्णले अझै किसानको २१ करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी छ ।

सरकारसँग सहमित भएपछि जिल्लाको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह भने सञ्चालनमा आइसकेको छ । यो उद्योगले पनि गत वर्षको किसानलाई पूरा भुक्तानि गरिसकेको छैन् । उद्योगले अझै धेरै किसानको भुक्तानि दिन बाँकी रहेको उखु किसान समेत रहनु भएका गोडैता नगरपालिकाका प्रमुख देवानन्द रायले बताउनुभयो ।

महालक्ष्मीले किसानलाई अझै १० करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी छ । सरकारसँग सहमति भएपछि केही रकम भुक्तानि गरेका चिनी उद्योगीले बैङ्कबाट ऋण नपाउँदा सबै किसानको भुक्तानि दिन नसकिएको बताएका छन् ।

सरकारसँग सहमति गरेर पनि चिनी उद्योगले भुक्तानि नदिँदा उखु किसानमा थप निराशा पैदा भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । उहाँले भुक्तानिका लागि किसानले पुनः आन्दोलन सुरु गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । चिनी उद्योगसँगै उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम समेत पाउन सकेका छैनन् ।

किसानलाई अनुदान रकम लिन अनेक झन्झटिलो प्रक्रिया राखिँदा थप पीडा भइरहेको उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो । उहाँले चिनी उद्योगीसँग सरकारले पनि उखु किसानमाथि अन्याय गरिरहेको गुनासो गर्नुभयो । जर्नाजन खत्रीले गोरखापत्रमा लेखेका छन् ।

२०७६ माघ ८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको