सरकार दायित्वबाट पन्छिएको भन्दै ‘विप्लव’द्वारा देशव्यापी संघर्षको घोषणा


कात्तिक ५, काठमाडौँ । भूमिगत रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

नेकपा महासचिव विप्लवले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको विप्लवले आरोप लगाएका छन्। सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

संघर्षका कार्यक्रममा कोण सभा, पर्चा वितरण, विरोध जुलुस लगायतका छन्। कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

उनले वर्तमान सरकार राष्ट्र र जनताप्रति हदैसम्म गैरजिम्मेवार बनेको आरोप लगाउँदै सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको बताएका छन्।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गर्दै विप्लवले उनीहरुप्रति हुने गरेका अपमान र दुव्र्यवहार दुःखद भएको बताएका छन्।

हेर्नुस् विज्ञप्ती

 

 

२०७७ कार्तिक ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको