ए महासागर
म बुबरो कटोरी समाती
धूलो माटो तकतक्याउँदै
सेवाको ढोका ढकढ्याउँदै
समाज बद्लने सपनाको चाङमा किचिएको रहेछु
मोहोर सुक्को ट्वाक्क खसाल्न
जी हजुर भनी धोक्दा धोक्दै
स्वाभिमान बाट चिप्लिएको रहेछु
म हिले गौथली
थोपा पानीले दुनियाको तिर्खा मेट्न खोज्ने
आदर्शमा बहकिने
सपनामा रमाउने स्वपन्दर्शी पो परेछु
म नहुँदैमा
आकाश खस्दैन धर्ती भासिदैन भनी नबुझ्ने
औकात विहिन हुतित्याऊ पो रहेछु ।
हो अहिले पनि
परिवर्तनका दस्तावेज
टेबलमा छरपस्ट होलान्
सुन्दर बालुवाका कलमी महलहरू
पाना पल्टिने आशामा
गुन पुटाला माकुरी जालोभित्र पर्खिदैन होलान्
ती लाभारिसहरु
म हतित्याउका सपनाहरु
अर्को सिर्जनशील उल्लुले सजाउँदै होला
यसैले त यो संसार चलेको छ
किनकि सपनाहरु मर्दैनन्
ए महासागर
हुतित्याउ नै सही
सपना त उही
गोरेतो फेरियो लक्ष्य जहाँको त्यही
महासागर उदेर मेरो बस्ती तिर बर्सिदा
प्यारा विद्यार्थीहरुलाई सुनाइदिनु
तिम्रा मास्टर
जीवन अनुभूतिको खोजमा
कङ्क्रिट महासागरमा
सागरको छालसँग छचलकिँदै
किनाराका अनेकौ घन चक्कर संग थोकिदै
नुनिलो पानीमा बिलाएको छ ।
अब उस्को
न नाम न त पहिचान छ ।
प्यारा विद्यार्थीलाई भनिदिनु
तिम्रा मास्टर असली गुरु थिएन
रोजीरोटी र आदर्शको गोठाले मास्टर थियो ।
नबिर्सी सुनाइदिनु
असली मार्गदर्शक गुरु
आफैं भित्र हुन्छ ।
सचेत मेहेनतले जगाउन
बिना अनुभूतिका ज्ञान
सदा अधूरा र मधुरा हुन्छन् ।
यसैले महासागर
‘अप्प दिप भव:’ भन्दै महामानव बुद्ध
मुस्कुराउँदै सन्देश दिए
हरेक व्यक्ति बल्न सक्छ,
जो जल्न राजी हुन्छ ।
नित्य सत्य त बदलिन्छ
जीवन क्षैनभङ्गुर छ
समय चक्रमा
छ र छैन, हो र होइन मा
जीवन खोजिँदैछ
जस्को उत्तर निराशा हुन्छ ।
छ पनि छैन पनि, हो पनि होइन पनि
बुझन त यो जरूरी छ
पात पलाउन नसके
न समुन्द्र रहने छ न त सूर्य
अप्प दिप भव: प्यारा विद्यार्थी
आफू भित्रको ज्ञान जगाउ ।।
याङो श्रो मगर
हाल: अमेरिका
प्रतिक्रिया दिनुहोस