रोल्पाको गंगादेवमा बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा नराखिने, प्रजिअ भन्छन- ‘अनिवार्य राख्नुपर्छ’

क्वारेन्टाइन भन्दा होम क्वारेन्टाइन सुरक्षित हुने गाउँपालिका अध्यक्ष खत्रीको दावी


बैशाख ०९, रोल्पा । कोरोना भाईरसको महामारी बिरुद्द लड्न रोल्पा जिल्लाका प्रत्यक गाउँपालिका र नगरपालिकाले बाहिरबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरेका छन । क्वारेन्टाइनका लागि स्कुल र छात्राबासहरु प्रयोग गरिएका छन् ।

तर बिगत देखिनै विवादित बन्दै आएको गंगादेव गाउँपालिकामा भने क्वारेन्टाइन ब्यबस्थापनबाट पन्छिएर गैरजिम्मेवार बनेको छ । यसअघि विदेश र भारतबाट फर्किने नागरिकलाई मात्रै क्वारेन्टाइनमा राख्ने र अन्य देश भित्रबाट आउने नागरिकलाई होम क्वारेन्टाइनमा राख्ने निर्णयलाई नै निरन्तरता दिने सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले होम क्वारेन्टाइननै सुरक्षित रहेको निष्कर्ष सहित क्वारेन्टाइनको ब्यबस्था नगर्ने गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीले टेलिफोनमा जानकारी दिए । उनले होमक्वारेन्टाइन भन्दा क्वारेन्टाइन असुरक्षित भएको दावी समेत गरे ।

अन्य गाउँपालिकाले ब्यबस्था गरेको क्वारेन्टाइनलाई केवल राहत वितरणको लहरका रुपमा लिएको आरोप लगाए । क्वारेन्टाइन भन्दा होमक्वारेन्टाइन कोरोना रोकथामको लागि बस्तुनिष्ट हुने दाबि समेत गरे ।

जबकी जिल्ला प्रकोप व्यबस्थापन समितिले कोरोना प्रभावित क्षेत्रबाट आउने नागरिकहरुलाई अनिबार्य क्वारेन्टाइनको ब्यबस्था गर्नुपर्ने प्रत्यक स्थानीय तहलाई निर्देशन दिएको छ । तर त्यसको अवज्ञा गर्दै गंगादेव गाउँपालिकाले भने कोरोना प्रभावित क्षेत्रबाट आएका नागरिकलाई होमक्वारेन्टाइनमै सिमित गरेको छ ।

यसअघि विदेश र भारतबाट आएकालाई मात्रै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । गंगादेव गाउँपालिका भरि ४२ वटा क्वारेन्टाइन खडा गरिएको छ तर ति सबै शुन्य छन्, कसैलाई क्वारेन्टाइनमा राखिएको छैन । भारतबाट आएका नागरिकलाई समेत ति क्वारेन्टाइनमा राखिएको छैन । पब्लिसिटीका लागि देखाउने हात्तिको दांत जस्तै ठड्याइएका क्वारेन्टाइनहरु स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप पनि निर्माण भएका छैनन्।

होमक्वारेन्टाइनको ब्यबस्था गरेको हौवा दिएर, कोरोना भाइरसको महामारीको कारण गंगादेब गाउँपालिका निकै जोखिमपूर्ण देखिएको छ । कोरोना प्रभावित क्षेत्रबाट आउनेहरुको संख्या दिनप्रतिदिन ह्वात्तै बढेको छ । उनीहरुको निरक्षण तथा अनुगम वा चेकजाँच कुनै पनि भएको छैन । क्वारेन्टाइनमा बस्न चाहनेहरुलाइ समेत क्वारेन्टाइनमा राखिएको छैन ।

यसरि हेर्दा गंगादेव गाउँपालिका कोरोना भाइरस रोकथाममा निकै जोखिमपूर्ण देखिएको छ ।

प्रमुख जिल्ला अधिकारि भन्छन ‘क्वारेन्टाइनमा अनिवार्य राख्नै पर्छ’

रोल्पाका प्रमुख जिल्ला अधिकारि लक्षमण ढकालले बाहिरबाट आउने कुनै पनि नागरिकलाई होमक्वारेन्टाइनमा नभई अनिबार्य क्वारेन्टाइनमै राख्ने निर्देशन दिएको पोष्टपाटीलाई जानकारी दिए ।

प्रजिअ ढकालले भने ‘प्रत्यक गाउँपालिकामा क्वारेन्टाइनको ब्यबस्थापन गर्न निर्देशन दिएको छ, गंगादेव गाउँपालिकाले पनि क्वारेन्टाइनको ब्यबस्था गरेर राख्नुपर्छ, म उहाँलाई कल गरेर भन्छु ।’

क्वारेन्टाइनको ब्यबस्था गरेको-नगरेको बारे छिट्टै निरक्षण गर्ने प्रमुख जिल्ला अधिकारि लक्षमण ढकालले जनाए ।

अन्य गाउँपालिका र नगरपालिकामा क्वारेन्टाइनको ब्यबस्थापन भएको छ । स्थानीय तहले प्रत्यक स्कुल र सामुदायिक भवनहरु क्वारेन्टाइनका लागि प्रयोग गरेका छन्’ हेर्नुहोस रोल्पाका प्रत्यक स्थानीय तहको रिपोर्ट यस्तो छ ।

रोल्पा नगरपालिका

रोल्पा नगरपालिकाले बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरेको छ । नगरपालिकाले प्रत्यक वडापालिकालाई क्वारेन्टाइनमा ब्यबस्थापन गर्न जिम्मा दिएको मेयर पूर्ण केसीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरुको खान बस्न नगरपालिकाले व्यहोर्ने भएको छ ।

काठमान्डौ लगायतका अन्य जिल्लाबाट आएका करिव २०० नागरिकलाई क्वारेन्टाइनमा राखेको मेयर केसीले जानकारी दिए । अझै ६ सय धेरै नागरिकहरु आउने क्रम रहेको बताए ।

नगरपालिकाले अहिले सम्म ३३ जनालाई र्यापिडटेस्ट गरेको र टेस्ट गरिएका सबै कोरोना नेगेटिभ देखिएको उनले जनाए । कोरोना भैसर रोकथामको अन्तिम बिकल्प क्वारेन्टाइन रहेको समेत स्पष्ट पारे ।

माडी गाउपालिका

माडी गाउँपालिकाले पनि क्वारेन्टाइनको ब्यबस्था गरेको छ । हालसम्म २ सय १५ भन्दा धेरैलाइ क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष नन्द बहादुर घर्तिले जानकारी दिए । उनीहरु भक्तपुर इट्टाभट्टा लगायतका ठाउबाट आएका हुन् । खान बस्न सम्पूर्ण व्यवस्था गाउँपालिकाले व्यहोरेको अध्यक्ष घर्तीले बताए ।

अझै करिब ५ सयको क्वारेन्टाइन व्यवस्थापन हुने उनले बताए । नागरिकहरुको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाहरुले खर्च गर्न कुनै कन्जुस्याई गर्न नहुने उनको धारणा छ ! ऊनले भने, सक्नेहरु विदेश गएर कमाइ धमाई गर्छन, नसक्नेहरु इट्टा भट्टामा गएर जिबन गुजारा गर्छन, यी निम्न स्तरका नागरिकहरुको स्वास्थ्य सुरक्षा हेर्नु स्थानीय तहको दायित्व हो’ ।

परिवर्तन गाउँपालिका

जिल्ला बाहिरबाट आएका व्यक्तिहरु करिव २ सयको हाराहारीमा क्वारेन्टाइन ब्यबस्थापन गरेको गाउँपालिका अध्यक्ष निम बहादुर डाँगीले जानकारी दिए । उनका अनुसार करिव १२ सय मजदुरहरु बाहिर रहेको र उनीहरु आउनेक्रम जारि रहेको बताउदै आउने सबैलाई क्वारेन्टाइनको ब्यबस्था गर्ने अध्यक्षले जनाए ।

क्वारेन्टाइनमा बस्ने सबैको बस्ने खाने ब्यबस्थापन गाउँपालिकाले गरेको छ ।

थबाङ गाउँपालिका

थबाङ गाउँपालिकाले जिल्ला बाहिरबाट आएका ४० जनालाई क्वारेन्टाइनमा राखेको छ, अन्य नागरिकहरु आउनेक्रम जारि रहेको प्रेस संयोजक बिमलराज डाँगीले जानकारी दिए । खाना बस्नको ब्यबस्था सबै गाउँपालिकाले गरेको छ ।

गाउँपालिका भित्रका सबै स्कुलहरुलाई क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिर अलपत्र परेका आफ्ना नागरिकलाई उद्दार गर्न पहल गरिरहेको समेत डाँगीले जनाए ।

रुन्टिगढ़ी गाउँपालिका

उक्त गाउँपालिकाले पनि जिल्ला बाहिरबाट भित्रिने आफ्ना नागरिकहरुका लागि क्वारेन्टाइनको ब्यबस्था गरेको छ । हालसम्म ३ सय ९७ जनालाई क्वारेन्टाइनमा राखिएको प्रेस संयोजक मनोज पुनले जानकारी दिए । स्कुल, स्वास्थ्य र सामुदायिक भवनहरुलाई क्वारेन्टाइन बनाइएको उनले जानकारी दिए ।

खाना बस्नको सबै ब्यबस्थापन गाउँपालिकाले गरेको छ । रोल्पा जिल्ला होल्लेरीबाट भित्रिने नागरिकहरु हालसम्म ६ हजार २ सय २७ जनाको स्वास्थ्य चेकजाँच समेत गरेको पुनले जनाए ।

सुनछहारी गाउँपालिका

सुनछहारी गाउँपालिकाले यसअघि देखिनै जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्दै आएको थियो । हालसम्म क्वारेन्टाइनमा बस्ने संख्या करिव ६ सय बढी पुगेको छ । अहिले १ सय जना भन्दा धेरै क्वारेन्टाइनमा राखिएको अध्यक्ष आस बहादुर पुनले जानकारी दिए ।

उनले भने, ‘अझै १ हजार मजदुरहरु आउने तयारीमा छन्, उनीहरु सबैलाई क्वारेन्टाइनको ब्यबस्थापन गर्ने तयारीमा छौ’। सम्पूर्ण ब्यबस्थापन गाउँपालिकाले गरेको पुनले जानकारी दिए ।

यतिखेर मानव बाँच्ने र बचाउनेतिर जागरुक हुनुपर्नेमा उनले जोड दिए ।

लुन्ग्री गाउँपालिका

हाल क्वारेन्टाइनमा ७८ जना राखिएको लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्काले जानकारी दिए । यस अघि चैत्र १८ गतेपछी आएका १ सय ९ जनालाई क्वारेन्टाइनमा राख्नुका साथै र्यापिड टेस्ट गर्दा कोरोना नेगेटिभ देखिएपछी घर पठाइको अध्यक्ष खड्काले जानकारी दिए ।

उनीहरु सबैको खान बस्न गाउँपालिकाले ब्यबस्था गरेको थियो । हाल क्वारेन्टाइनमा रहेका सबैलाई सकेसम्म र्यापिड टेस्टद्वारा परिक्षण गराएर घर पठाउने तयारि गरेको उनले बताए ।

सुनिल स्मृति गाउँपालिका

गाउँपालिका स्तरीय विभिन्न स्वास्थ्य चौकीहरुमा क्वारेन्टाइनको ब्यबस्था गरिएको छ भने वडा स्तरीय क्वारेन्टाइनको ब्यबस्थापन समेत गरेको स्वास्थ्य सहकर्मी सावित्रा थापाले जानकारी दिईन । हाल ९५ जना क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै काठमान्डौ, गोर्खा, सुर्खेत, बाग्लुंग, म्याग्दीबाट आएका आन्तरिक नागरिकहरु रहेको स्वस्थ्यकर्मी थापाले बताइन ।

अझै धेरै संख्यामा नागरिकहरु आउने क्रम जारीरहेको र आउने सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाएको उनले जानकारी दिइन् । यहाँ पनि क्वारेन्टाइनमा बस्नेहरुको खाना बस्नको व्यवस्था गाउँपालिकाले गरेको छ । हालसम्म २ जनालाई र्यापिडटेस्ट गरेको र उनीहरु नेगेटिभ देखिएको थापाले बताइन ।

त्रिबेणी गाउँपालिका

बाहिर जिल्लाबाट त्रिवेणी गाउँपालिकामा आएका करिव ३ सय जनालाई स्कुलमा क्वारेन्टाइनको ब्यबस्था गरेको गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए । अझै ७ सय भन्दा धेरै नागरिकहरु आउदै गरेको र उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरेको उनले बताए ।

हिडेर आएका व्यक्तिहरुलाइ समेत क्वारेन्टाइनमा राखिएको वलीको भनाई छ ।

९ बैशाख २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको