दाङको बेलझुण्डीमा आइसोलेसनयुक्त अस्पताल बनाईने


चैत ८, दाङ । दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा आइसोलेसनयुक्त अस्पताल बनाईने भएको छ ।

प्रदेश नं. ५ सरकारले उक्त अस्पतालमा आईसोलेसनयुक्त अस्पताल बनाउने भएको हो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने भएको छ ।

कोरोना रोकथाम तथा उपचारका लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको प्रदेश ५ सरकारले लकडाउनको अवस्था विश्लेषण गर्ने जिम्मेवारी सीडीओहरुलाई समेत तोकेको छ ।

कोभिड-१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा ३, बाँकेमा २ र दाङमा एउटा अस्पताल बनाउने निर्णय गरेको हो ।

अस्पताल बनाउन रुपन्देहीको बुटवल धागो कारखाना, भैरहवाको भीम अस्पताल र देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस तोकिएको छ । त्यसैगरी बाँकेमा क्यान्सर रोग अस्पताल र नेपाल प्रहरीको अस्पतालमा तथा दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा आइसोलेसनयुक्त अस्पताल बनाउने प्रदेश सरकारको तयारी छ ।

आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निर्माणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने छन् । बुटवल धागो कारखानामा निर्मित एक सय शय्याको अस्पताल भने शनिबारबाटै सञ्चालनमा ल्याउने तयारी छ ।

८ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको