विदेशबाट आएका ६२ जनालाई खरिपाटीकाे क्वारेन्टाइन लगियो

फाइल तस्बीर

चैत ८, काठमाडौं । प्रतिबन्ध उलंघन गर्दै विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । शनिबार थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो ।

स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो ।

क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ । स्वाब भने भोलि सङ्कलन गरिनेछ ।

उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लैजाने भएको छ ।

स्वेच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्नेछन् । नेपाल विद्युत प्राधिकरणको चमेनागृहमा खाना बनाएर प्याकिङ गरी उनीहरुलाई पठाइएको र क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन मिलाइएको छ ।

सरकारले गत बुधबार युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानका नागरिकलाई यही चैत ७ गतेदेखि आगामी वैशाख ३ गतेसम्मका लागि नेपाल आउन प्रतिबन्ध लगाएको थियो ।

केही समयअघि कोरोनाको आशङ्कामा सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखी उपचार गराइएको थियो ।

८ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको