कोरोना संक्रमणबारे झुटो प्रचार गरेको आरोपमा युवक पक्राउ

सांकेतिक तस्बिर

चैत ८, काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।

यसैबीच नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौँले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले आज एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ । त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारबाहीको माग गरेको छ ।

२०७६ चैत्र ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको