लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने


कात्तिक ४, बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार नि:शुल्क गर्ने जानकारी दिए।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ ।

रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल र भेरी अस्पताल बांकेलाई कोरोना विशेष अस्पतालको रुपमा छुट्याएर बिरामीको उपचार भइरहेको छ ।

यी अस्पतालहरु अहिले एक सय ६६ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको धागो कारखानास्थित कोरोना अस्पतालको आइसोलेसनमा २६ र आइसियूमा १६ गरी ४२ जना, भीम अस्पताल भैरहवामा ३७ जना आइसोलेसन र ५ जना आइसियूमा गरी ४२ जनाको उपचार भइरहेको छ ।

भेरी अस्पतालको आइसोलेसनमा ६१ र आइसियूमा २ गरी ६३ जनाको उपचार भइरहेको छ । भेरीमा २ जनाको भेन्टिलेटरको माध्यमबाट उपचार भइरहेको निर्देशनालयले जनाएको छ।

त्यस्तै बेलझुण्डी दाङमा पनि १४ जना आइसोलेसन र ५ जना आईसियू गरि १९ जना उपचाररत रहेका छन् ।

यी चारवटा अस्पतालमा हालसम्म १ हजार ९४ जना भर्ना भएकोमा ८ सय ५० निको भएर घर फर्किइसकेका छन् । त्यस्तै ७८ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको