दाङ, बर्दिया, कपिलबस्तु र रुपन्देहीका घटनामा ६ जनाको मृत्यु

सांकेतिक तस्बिर

असोज ४, दाङ । दाङ, बर्दिया, कपिलबस्तु र रुपेन्देहीका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ ।

बर्दियामा सर्पदंशबाट एक युवाको मृत्यु भएको छ। जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ तिलकना निवासी ३१ वर्षीय सब्दाम अलीको मृत्यु भएको हो।

आमाको लागि औषधि लिन गएका उनलाई गएराति साढे ९ बजेतिर सर्पले बाटोमै डसेको थियो। बेहोस अवस्थाका उनलाई बाटोमा साथीहरुले भेटेर घरसम्म पुर्‍याएका थिए।

उनलाई अस्पताल लैजाने क्रममा मध्यरातमा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। मृतकको बायाँ खुट्टामा सर्पले टोकेको देखिएको प्रहरीले बताएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ९ मुनाल निवासी ३० वर्षीय गौरव गुरुङको पंखा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। राति १० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याइएको थियो।

जिल्ला अस्पताल गुलरीयामा उपचारका क्रममा राति पौने १ बजेतिर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

त्यस्तै कपिलबस्तुमा बसको ठक्करबाट घाइते भएका पैदल यात्रुको उपचारका क्रममा मृत्यु भएको छ। बुद्धभूमी नगरपालिका वडा नं. ९ चम्पापुरमा ग १ ख ८९७४ नम्वरको बसको ठक्करबाट अन्दाजी ३५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो। पैदल हिँडिरहेका ती व्यक्तिलाई बसले शनिबार राति सवा ९ बजेतिर ठक्कर दिएको थियो।

गम्भीर अवस्थाका घाइतेको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा गएराति पौने ११ बजेतिर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।

दाङको घोराहीमा एक ८२ वर्षीया वृद्धा मृत अवस्थामा फेला परेकी छन्। घोराही उपमहानगरपालिका वडा नं. ८ पूर्वी सेवारमा सोही वडाकी ८२ वर्षीया जमुनादेवी सुनार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनी शनिबार दिउँसो बाटोमा मृत अवस्थामा फेला परेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रुपेन्देहीमा सेफ्टी ट्याङ्की भित्र एक बालक मृत अवस्थामा फेला परेका छन्। सिद्धार्थ नगरनगरपालिका वडा नं. १० दोदगहरी निवासी १० वर्षीय सुग्रिम कुर्मी सेफ्टी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेका हुन्।

५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार झिम्की कुर्मीका छोरा सुग्रिम शनिबार बेलुका ५ बजेदेखि हराएका थिए।

आफन्तले खोज्दै जाने क्रममा बालक आइतबार बिहान ३ बजेतिर घरदेखि ४ सय मिटर पश्चिममा रहेको सर्मन लोनियाको निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।

दाङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक व्यक्तिको पुरुषको मृत्यु भएको छ। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ६ सुनडवरी निवासी ५० वर्षीय आइते रोकाको उपचारका लागि बाँके लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

पैदल यात्रु रोकालाई शनिबार दिउँसो सवा ३ बजेतिर शान्तिनगर ३ रानीवनमा रा ३ प १०९४ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो।

टाउकोमा गम्भीर चोट रहेका रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि बाँकेतर्फ लगिँदै थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

४ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको