ऊर्जामन्त्री पुनले प्रदेश ५ का मजदुरलाई उपत्यकाबाट उद्धार गरी घर पठाए


बैशाख ८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण उपत्यकामा अलपत्र परेका प्रदेश नं. ५ का करिब ४ सयजना नागरिकलाई उद्धार गरिएको छ । भक्तपुर र ललितपुरमा रहेका उनीहरुलाई आइतबार दिउँसो र राती गरी ८ वटा बसमा प्रदेश नं. ५ मा पठाइएको छ ।

आइतबार उद्धार गरिएका अधिकांश भक्तपुर र ललितपुरका विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुकुम, सल्यान, दाङ र प्यूठानका मजदुर छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, र संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीमगरको पहलमा राजधानीमा अलपत्र परेका प्रदेश नं. ५ का नागरिकलाई उद्धार गरी उनीहरुको घरतर्फ पठाइएको हो ।

ऊर्जामन्त्री पुनले आइतबार राती पानीको झरीमा भक्तपुर पुगेर अलपत्र परेका नागरिकहरुलाई ६ वटा बसमा घर पठाएका हुन् । त्यसअघि दिउँसो नेतृ घर्तीले ललितपुरबाट घर जान चाहनेहरुलाई २ वटा बसमा विदाइ गरेकी थिइन् । उनले उपत्यकामै बस्न चाहनेहरुका लागि राहत वितरणसमेत गरेकी थिइन् ।

रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित ऊर्जामन्त्री पुनलाई सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि प्रदेश नं. ५ को समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

आइतबार राती आफ्नो गृह प्रदेशका नागरिकहरुलाई उद्धार गरेर विदाइ गर्दै ऊर्जामन्त्री पुनले लकडाउनको समयमा सकेसम्म बसिरहेकै ठाउँमा बस्नुपर्ने र असाध्यै अप्ठ्यारा परेकाहरुलाई घर पठाउने सरकारको नीति रहेको बताए ।

उनले भक्तपुर र ललितपुरमा रहेका प्रदेश नं. ५ का नागरिकको उद्धारका लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधिले सहयोग गरेको भन्दै धन्यवाद दिए ।

मन्त्री पुन र नेतृ घर्तीसँगै उद्धारमा सहभागी अनेरास्ववियूका नेता दिपेश पुनले उपत्यकामा अलपत्र परेका प्रदेश नं. ५ का नागरिकलाई सोमबार पनि उद्धार गरेर घरतर्फ पठाइने जानकारी दिए ।

८ बैशाख २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको