फागुन ८, काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागिरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले मुख खोलेका छन् ।
स्वीस कम्पनीसँग ७०–७५ करोड रुपैयाँ कमिसन लाग्दै बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको छ । ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।
मन्त्री बाँस्कोटाले कुनै गल्ती नगरेको दाबी गरेपनि अडियोमा रहेको आवाज आफ्नै भएको घुमाउरो तरिकाले स्वीकारेका छन् । उनले आफूसँग विभिन्न मान्छेले घुसको प्रस्ताव गर्ने गरेको र काम नभए सार्वजनिक गर्ने गरेको बनाए ।
‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, १–२ दिन मजा लिन दिनुस्,’ कञ्चनपुरमा रहेका उनले भने, ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन् । नभए के हुन्छ देखिहाल्नुभयो । त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला ।’
मन्त्री रहेकाले आफूलाई घुसका लागि धेरै प्रस्ताव आउने गरेको पनि बताएका छन् । ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन् । आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला,’ उनले भने ।
काठमाडौं फर्केर अडियो रेकर्डबारे ३ बजे पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिने मन्त्री बास्कोटाले बताएका छन् । ‘अडिओबारे के कसो हो भन्ने दिउँसो बोल्छु,’ उनले भने ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश शर्मासँगको कमिसन कुराकानी अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस