रोल्पामा ५ वर्षिया बालिका २ बालकबाट बलात्कृत


कात्तिक ३, रोल्पा । रोल्पामा ५ वर्षिया बालिका बलात्कृत भएकी छिन् ।

शनिबार गाउँकै छिमेकी १३ वर्षिय दुई बालकबाट ती बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले आज (सोमबार) जानकारी दिए ।

उनका अनुसार घर नजिकै खेलिरहेकी बालिकालाई दुईजना बालकहरुले फकाएर घर नजिकैको गोरेटो बाटोमा लगि बलात्कार गरेका थिए ।
असह्य पीडा भएपछि बालिका रुँदैकराउँदै घरमा आएर आफ्ना बाबुआमालाई घटनाको बारेमा जानकारी गराइन् । छोरी बलात्कृत भएको खवरले उनका बाबुआमालाई विक्षिप्त मात्र बनाएन । छोरीको भविष्यको चिन्ताले छटपटी बनायो । त्यसपछि उनका अभिभावकले प्रहरीको टोलफ्रि नम्बर (१००) मा सम्पर्क गरेर घटनाका बारेमा जानकारी गराएका थिए ।

प्रहरीको सल्लाह बमोजिम उनका अभिभावकले आइतबार इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पामा उजुरी दिएका छन् । उजुरी पछि बालिकाको स्वास्थ्य परीक्षण गरी बालिकालाई बाबुआमाको जिम्मामा पठाइएको छ भने हाल ती दुई बालकहरु अभिभावकसहित प्रहरीको निगरानीमा रहेका छन् ।

बिदाको समय भएको हुँदा कानूनी प्रकृयामा थप समस्या देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीले बताए । तर पनि यस विषयमा सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरी आवश्यक प्रकृया अगाडि बढाइने सुबेदीको भनाइ छ ।

घटनामा संलग्न सबै बालक भएको हुँदा सोही बमोजिमको कानूनी कारबाही प्रकृया अघि बढाइने उनले जानकारी दिए । “हामी निर्दाेषलाई न्याय दिन्छौं, दोषिलाई कानून बमोजिम कारबाही गरेरै छाड्छौं” प्रनाउ सुवेदीले भने ।

छोरीहरु घरभित्र तथा बाहिर कहीँ कतै सुरक्षित छैनन् । धारा, पधेरा, घर, टोल, छिमेक, विद्यालय तथा सडक पेटीमै अबोध वालिकाहरु तथा छोरीहरु बलात्कृत भएको खवरले अभिभावकहरुलाई थप त्रसित बनाइरहेको छ । त्यसैले बलात्कारमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

२०७७ कार्तिक ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको